काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका थियौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई कम गर्न शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । जसबमोजिम नेपाल स्टक एक्सचेञ्जले पनि शुक्रवार थप एक दिन कारोबार हुनेगरी आइतबारको कारोबार भने बन्द गर्ने निर्णय गरेको थियो ।
सोही दिनदेखि विजशाला डटकमले नियमित रुपमा पस्किदै आइरहेको स्तम्भ ‘ग्राउण्ड जिरो’ प्रकाशन गर्न बन्द गरिएको थियो । तर पाठकहरुको अत्यधिक मागबमोजिम विजशालाले सरकारको अर्को निर्णय नआउँदासम्मका लागि हरेक सोमबार ग्राउण्ड जिरो पस्किने निर्णय गरेको छ ।
सोही स्तम्भलाई निरन्तरता दिने क्रममा आज हामी विभिन्न ब्रोकर हाउसहरुमा पुगेर सेयर लगानीकर्ताहरुको विचार बुझ्ने प्रयास गरेका छौं । आज हामीले न्युप्लाजा, घट्टेकुलो र अनामनगरमा रहेका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं ।
सर्वप्रथम हामी न्यूप्लाजामा रहेको दिव्या सेक्युरिटिज (ब्रोकर नं(५९)मा पुग्यौं । नेप्से परिसूचक सामान्य अंकले बढेको थियो । उक्त ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति देखिदैनथ्यो । केही समयपछि दुईजना लगानीकर्ता आए तर उनीहरु आ–आफ्नै सुरमा मोबाइल चलाउँदै बसिरहे र एकछिनपछि दुबैजना निस्किहाले ।
बिहानको साढे ११ जति भएको थियो हामी उक्त ब्रोकर हाउसबाट निस्किएर घट्टेकुलो चोकमा रहेको भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)तर्फ लाग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति बाक्लै देखिन्थ्यो । बजार सामान्य अंकले मात्रै बढेको थियो ।
लगानीकर्ताहरु आ–आफ्नै स्क्रिप्ट हेरिरहेका थिए । पछाडी बसेका लगानीकर्ताहरु भने सुकुम्बासीहरुका विषयमा कुरा गर्दै थिए । एकजना लगानीकर्ताले पहिला व्यवस्थित गरेर मात्रै सुकुम्बासी बस्ती हटाउनुपर्ने तर्क व्यक्त गरे ।
एकजना लगानीकर्ताले भने नेशनल हाइड्रोपावरको सेयरमा खेलाडीहरु लागिपरेको र यस्तो सेयरबाट लगानीकर्ता आफैं चनाखो हुनुपर्ने बताए । उनकै छेउमा बसेका अर्का लगानीकर्ता भने फोनमा बोल्दै माछापुँच्छ्रे बैंकको सेयर किन्न सुझाव दिदैं थिए ।
एकछिनपछि हामी उक्त ब्रोकर हाउसबाट पनि निस्कियौं । सेयरबजारमा सामान्य अंकको सुधार कायम नै थियो । हामी अनामनगरमा रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)मा पुग्यौं । लगानीकर्ताहरु सामान्य नै देखिन्थे तर एकआपसमा गफिदै थिए ।
त्यत्तिकैमा एकजना महिला लगानीकर्ताले अर्को पुरुष लगानीकर्तालाई भनिन्, ‘तपाई त अचेल ब्रोकरमा आउनै छाड्नु भयो, किन हो यसरी हराउनुभएको कि घरतिरबाटै अपडेट हुनुहुन्छ ?’ उनको प्रश्नलाई जवाफ दिदैं ती पुरुष लगानीकर्ताले भने, ‘बजार बढेको भएपो ब्रोकर आउन मन लाग्छ, आफुले किनेका सेयरहरु केही बढ्दैनन्, आउन नि मन लाग्दैन ।’
एकछिनपछि छेउमा बसेका पाका लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा पनि सेयरबजारलाई असर परेको बताए । ‘अहिले सेबोन अध्यक्ष बिहिन छ, सरकारले चाँडै बोर्डको अध्यक्ष चयन गर्नुपर्छ नत्र बजार अझै घट्ने सम्भावना हुन्छ’ उनले भने, ‘बोर्डमा अध्यक्ष आउने हो र सरकारले भनेबमोजिम विदेशमा रहेकाहरुले सेयरबजारमा लगानी गर्ने व्यवस्था कार्यान्वयन गरिने हो भने बजार ५ हजारतर्फ जान सक्छ ।’
उनकै छेउमा बसेका अर्का लगानीकर्ताले भने लामो समय पूँजीबजारमा रहँदा पनि नाफा कमाउन नसकेको गुनासो पोखे । ‘खै के–के हो जे पोलिसी आएपनि हामी जस्ता साधारण र सोझा लगानीकर्तालाई सेयरबजारबाट कमाउन गाह्रो रैछ’ उनले भने, ‘बजार छिरेको ५÷६ वर्ष भइसक्यो अहिलेसम्म मज्जाले नाफा बुक गरे भन्ने दिन आएकै छैन ।’
फेरी त्यहि पाका लगानीकर्ताले भने, ‘अहिलेको सिजन बजार बढ्नुपर्ने हो, सरकारले आफुले लिएको ठोस कदमको जवाफदेहिता भएन, स्टन्ट गरेर मात्रै हुँदैन, अब सेयरबजारमा पनि करोडको लगानी गर्नेमाथि छानबिन नगर्ला भन्न सकिँदैन यहि कुराले गर्दा लगानीकर्ताहर हच्किएका छन्’ उनले थपे, ‘नत्र बजेट आउनुअघि बजारमा रौनक देखिन्छ, सेयर लगानीकर्ताहरु उत्साहित हुन्छन्, केही समयपछि बजेट घोषणा हुनेछ, तर लगानीकर्ताहरु उत्साहित देखिदैनन् ।’
बजारमा सामान्य सुधार देखिदै थियो । हामी उक्त ब्रोकरबाट निस्किएर अनामनगरमै रहेको इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) तर्फ गयौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति बाक्लै थियो । तर लगानीकर्ताहरु बजार भन्दा बढी अन्य विषयमा गफिदै थिए ।
लगानीकर्ताहरु सामाजिक सञ्जालमा आएका सुकुम्बासीका भिडियोहरु हेर्दै त्यहि विषयमा गफ गर्दै थिए । केहीले सुकुम्बासी हटाउने विषयमा सरकार निन्दनीय रहेको तर्क व्यक्त गर्दै थिए भने केहीले सरकारले राम्रो काम गरेको बताउँदै थिए ।
एकछिनपछि एकजना लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव उत्तम कुमार खत्रीलाई प्रस्ताव गरिएको समाचार सबैलाई सुनाए ।
त्यहि विषयमा एकछिन लगानीकर्ताहरु छलफल गर्न थाले । एकजना लगानीकर्ताले भने खत्री राम्रो व्यक्ति रहेको र बोर्डको अध्यक्षमा उनी नै नियुक्ति भएमा सेयरबजारको लागि राम्रो हुन सक्ने आँकलन व्यक्त गरे ।

