काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी तनाव तथा सम्भावित युद्ध चाँडै अन्त्य हुने बताएका छन्। बुधबार साँझ जर्जियाको गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिका ईरानलाई परमाणु हतियार बनाउन नदिने आफ्नो अडानमा स्पष्ट रहेको बताए।
ट्रम्पले भने, ‘हामी यो अत्यन्त महत्वपूर्ण कारणले गरिरहेका छौं। हामी ईरानलाई परमाणु हतियार बनाउन दिन सक्दैनौं। धेरै मानिसलाई थाहा छ कि हामी सही दिशामा छौं, र यो अवस्था धेरै चाँडै समाप्त हुनेछ।’
उनले स्ट्रेट अफ हर्मुज र ईरानको परमाणु कार्यक्रमसम्बन्धी विषयमा समझदारी खोज्ने प्रयास भइरहेको पनि उल्लेख गरे। विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने स्ट्रेट अफ हर्मुज पछिल्ला दिनमा अन्तर्राष्ट्रिय चासोको केन्द्र बनेको छ।
यसैबीच, अमेरिकी समाचार संस्था सीएनएनका अनुसार ईरानले अमेरिकी प्रस्तावमाथि आफ्नो धारणा बिहीबार मध्यस्थमार्फत प्रस्तुत गर्ने तयारी गरेको छ। ईरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइली बाघेईले अमेरिकी प्रस्तावबारे आफ्नो धारणा पाकिस्तानी मध्यस्थहरूमार्फत साझा गरिने बताएका छन्।
अमेरिका र ईरान दुवै पक्ष युद्ध अन्त्य गर्ने सम्भावित सम्झौताउन्मुख रहेको जनाइएको छ। यद्यपि, ईरानले हालसम्म अमेरिकी प्रस्तावमाथि अध्ययन तथा आन्तरिक परामर्श जारी रहेको स्पष्ट पारेको छ।

