काठमाण्डौ । अमेरिका–इरान सम्भावित शान्ति सम्झौताप्रति बढ्दो आशाका बीच अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बिहीबार लगातार तेस्रो कारोबार दिन पनि उकालो लागेको छ। अमेरिकी डलर कमजोर बनेपछि सुनमा लगानीकर्ताको आकर्षण बढेको विश्लेषकहरूले बताएका छन्।
आज सुनको मूल्य ०.२८ प्रतिशत अर्थात १३.१९ ले वृद्धि हुँदै प्रतिऔंस ४ हजार ६९६ डलर पुगेको छ। बुधबार मात्रै सुनको मूल्य करिब ३ प्रतिशतले बढेर अप्रिल २७ यताकै उच्च स्तरमा पुगेको थियो।
इरानले बुधबार अमेरिकाले प्रस्ताव गरेको सम्भावित शान्ति योजनामाथि समीक्षा गरिरहेको जनाएको छ। स्रोतहरूका अनुसार उक्त प्रस्तावले युद्ध अन्त्य गर्ने औपचारिक आधार तयार गर्न खोजे पनि इरानको आणविक कार्यक्रम स्थगित गर्ने तथा स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने अमेरिकी माग भने अझै अनिर्णित छन्।
विश्लेषकहरुका अनुसार बजारले शान्ति सम्झौताबारे केही हदसम्म अत्यधिक प्रतिक्रिया दिएको भए पनि अमेरिकी डलर कमजोर हुनु र अमेरिकी ट्रेजरी प्रतिफल घट्नुले सुनको मूल्यलाई समर्थन गरेको हो।
यसैबीच, अमेरिकी डलर सूचकांक ०.१ प्रतिशतले घटेको छ, जसले अन्य मुद्राका लगानीकर्ताका लागि सुन खरिद सस्तो बनाएको छ। अमेरिकी १० वर्षे ट्रेजरी बन्डको प्रतिफल पनि यो साता ०.६ प्रतिशतले घटेको छ, जसले सुन जस्तो प्रतिफल नदिने सम्पत्तिमा लगानी आकर्षक बनाएको छ।
मध्यपूर्वमा युद्ध अन्त्य हुने सम्भावनाप्रति आशावादी वातावरण बनेपछि ब्रेन्ट कच्चा तेलको मूल्य यो साता करिब ६ प्रतिशतले घटेको छ। युद्ध सुरु भएयता भने सुनको मूल्य १० प्रतिशतभन्दा बढीले गिरावट भोगिसकेको छ।
विश्लेषकहरूका अनुसार कच्चा तेलको उच्च मूल्यले मुद्रास्फीति बढाउन सक्छ, जसका कारण ब्याजदर वृद्धि हुने सम्भावना रहन्छ। उच्च ब्याजदरले भने सुनमा लगानीको आकर्षण घटाउने गर्दछ।
अब लगानीकर्ताको ध्यान शुक्रबार सार्वजनिक हुने अमेरिकी मासिक रोजगारी प्रतिवेदनतर्फ केन्द्रित भएको छ। उक्त प्रतिवेदनले अमेरिकी अर्थतन्त्रको अवस्था र फेडरल रिजर्भको आगामी मौद्रिक नीतिबारे संकेत दिने अपेक्षा गरिएको छ।

