काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्थाले १ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाले एक करोड ३१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको हो ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४१.१९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म संस्थाले ९३ लाख ३१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी बढ्दा नाफा वृद्धिमा टेवा पुगेको हो । सो अवधिसम्म संस्थाले ७ करोड ९८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा १२.७९ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले ७ करोड ७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल)मा पनि सुधार देखिएको छ । गत आवको तेस्रो त्रैमाससम्म ६.३५ प्रतिशत रहेको संस्थाको एनपीएल यस अवधिसम्म ५.७८ प्रतिशत कायम भएको छ ।
संस्थाको इपीएस ११.३८ रुपैयाँबाट बढेर १६.०६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८७.१७ गुणा र तरलता अनुपात ४.९३ प्रतिशत रहेको छ ।
संस्थाको नाफामा सुधार देखिएपनि वितरणयोग्य नाफा भने सो अवधिसम्म ऋणात्मक देखिएको छ । संस्थाको यस्तो मुनाफा १ करोड ७० लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

