मंगलवार, श्रावण ५,२०८३ 03:21:53
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:21:53
Bizshala
Global IME Bank Limited

नेपाल राष्ट्र बैंकको रिपोर्ट कार्डः बाह्य क्षेत्र ‘सुपरहिट’, आन्तरिक अर्थतन्त्र ‘औसत’

सञ्चिति, रेमिट्यान्स र शोधनान्तरमा उछाल, तर निजी क्षेत्रको आत्मविश्वास कमजोर

नेपाल राष्ट्र बैंकको रिपोर्ट कार्डः बाह्य क्षेत्र ‘सुपरहिट’, आन्तरिक अर्थतन्त्र ‘औसत’
New Office

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा नेपालको बाह्य अर्थतन्त्र उल्लेखनीय रूपमा बलियो बनेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, चालु खाता र रेमिट्यान्समा उल्लेखनीय सुधार देखिए पनि निजी क्षेत्र कर्जा विस्तार, पूँजीगत खर्च र आन्तरिक आर्थिक गतिविधि भने अपेक्षाकृत कमजोर देखिएका छन्।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा पनि रेमिट्यान्स ३१.९ प्रतिशतले बढेको छ। चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक छ।

रेमिट्यान्समा आएको उच्च वृद्धिले बाह्य क्षेत्रका सूचकहरूलाई मजबुत बनाएको छ। चालु खाता ६ खर्ब १८ अर्ब रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब रुपैयाँ बचतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा चालु खाता २ खर्ब २२ अर्ब रुपैयाँ र शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब रुपैयाँ बचतमा थियो।

विदेशी मुद्रा सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको छ। राष्ट्र बैंकका अनुसार कुल विदेशी मुद्रा सञ्चिति ३०.५ प्रतिशतले बढेर ३४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। उक्त सञ्चितिले १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

यता बैंकिङ प्रणालीमा तरलता सहज भए पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न सकेको छैन। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ८.५ प्रतिशतले बढ्दा निजी क्षेत्रमा जाने कर्जा केवल ५.७ प्रतिशतले मात्र बढेको छ। वार्षिक आधारमा निजी क्षेत्र कर्जा वृद्धि ६.९ प्रतिशत रहेको छ।

वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर ३.४० प्रतिशत र कर्जा ब्याजदर ६.७७ प्रतिशतमा झरेको छ। अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा सीमित रहेको छ। अर्थविद्हरूका अनुसार ब्याजदर घटे पनि व्यवसायीमा लगानी विस्तारको आत्मविश्वास पूर्ण रूपमा फर्किन नसकेको संकेत यसले गरेको छ।

मुद्रास्फीति भने नियन्त्रणमै देखिएको छ। समीक्षा अवधिमा औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.५७ प्रतिशतभन्दा निकै कम हो। तर चैत महिनाको वार्षिक बिन्दुगत मुद्रास्फीति भने ४.४७ प्रतिशत पुगेको छ। घ्यू तथा तेल, फलफूल, तरकारी, यातायात र शिक्षा क्षेत्रमा मूल्यवृद्धि उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ।

वैदेशिक व्यापारतर्फ निर्यात १८.५ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ भने आयात १३.८ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। यससँगै व्यापार घाटा १३ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको प्रतिवेदनले सरकारको पूँजीगत खर्च कमजोर रहेको तथ्य पनि देखाएको छ। समीक्षा अवधिमा सरकारको कुल खर्च १० खर्ब ५९ अर्ब रुपैयाँ पुगेको भए पनि पूँजीगत खर्च केवल ९६ अर्ब रुपैयाँमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.५ प्रतिशतले कम हो।

अर्थविद्हरूका अनुसार बाह्य क्षेत्रका सूचकहरू सुधारिए पनि अर्थतन्त्रको दीर्घकालीन स्वास्थ्यका लागि उत्पादन, लगानी, रोजगारी र औद्योगिक विस्तारमा सुधार आवश्यक छ। हालको सुधार मुख्यतः रेमिट्यान्समा आधारित भएकाले उत्पादनमूलक क्षेत्र बलियो नबनेसम्म अर्थतन्त्र पूर्ण रूपमा सुदृढ भएको मान्न नसकिने उनीहरूको भनाइ छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.