काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सि जिनफिङबीच बेइजिङमा सम्पन्न दुईदिने उच्चस्तरीय वार्तालाई दुवै पक्षले सकारात्मक र ऐतिहासिक रूपमा व्याख्या गरेका छन्। वार्तापछि अमेरिका फर्किने क्रममा ट्रम्पले उक्त भेटलाई अत्यन्त सफल, विश्वभर चर्चा योग्य र स्मरणीय बताएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सी जिनफिङले यो भ्रमणलाई ऐतिहासिक र द्विपक्षीय सम्बन्धमा कोशेढुंगा साबित हुने बताएका छन्। यद्यपि, वार्तापछि कुनै ठूलो व्यापार सम्झौता वा नयाँ आर्थिक डिलको औपचारिक घोषणा गरिएको छैन।
दुवै नेताबीच व्यापार, ताइवान, इरान, तेल आपूर्ति तथा होर्मुज स्ट्रेटको सुरक्षा लगायतका महत्वपूर्ण अन्तर्राष्ट्रिय विषयमा छलफल भएको जनाइएको छ। ट्रम्पले अमेरिकी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा चीनले इरानलाई सैन्य सामग्री उपलब्ध नगराउने प्रतिबद्धता जनाएको दाबी गरेका छन्।
उनका अनुसार चीनले होर्मुज स्ट्रेट खुला रहनुपर्नेमा जोड दिएको छ, किनकि विश्व ऊर्जा आपूर्तिका लागि उक्त समुद्री मार्ग अत्यन्त महत्वपूर्ण मानिन्छ। साथै, बेइजिङले अमेरिकाबाट तेल खरिद बढाउने विषयमा पनि सकारात्मक संकेत दिएको ट्रम्पको भनाइ छ।
ताइवानको विषयमा भने चीनले आफ्नो पुरानै अडान दोहोर्याएको छ। चिनियाँ पक्षले ताइवानसम्बन्धी मुद्दा संवेदनशील भएकाले त्यसलाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने उल्लेख गरेको छ।
यसैबीच, ट्रम्पले आगामी सेप्टेम्बरमा राष्ट्रपति सी चिनफिङलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएको र त्यसप्रति आशावादी रहेको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।