काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मुद्दामा वार्ता गरिरहेका आफ्ना प्रतिनिधिहरूलाई हतारमा कुनै सम्झौता नगर्न निर्देशन दिएको बताएका छन्।
यसअघि भने विभिन्न रिपोर्टहरूमा सम्झौता नजिक पुगेको बताइएको थियो।
डोनाल्ड ट्रम्पले इरानसँग राम्रो सम्झौता गर्ने पनि बताएका छन्। यस क्रममा उनले पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौताको आलोचना गरे।
अमेरिकी मिडियाका अनुसार अहिले छलफल भइरहेको सम्भावित सम्झौतामा ६० दिनको युद्धविराम थप्ने, हर्मुज स्ट्रेट पुनः खोल्ने, तथा इरानको परमाणु कार्यक्रमबारे थप वार्ता गर्ने विषय समावेश छन्।
डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘यदि मैले इरानसँग सम्झौता गरें भने त्यो राम्रो र सही हुनेछ। ओबामाको जस्तो होइन, जसले इरानलाई धेरै नगद पैसा दियो र परमाणु हतियार बनाउने बाटो खोलिदियो।’
उनले थप लेखे, ‘हाम्रो सम्झौता त्यसको ठीक उल्टो हुनेछ। तर कसैले यसलाई देखेको छैन र कसैलाई पनि यसको वास्तविक स्वरूप थाहा छैन। यो अझै पूर्ण रूपमा तय भएको पनि छैन। त्यसैले यसको आलोचना गर्नेहरूको कुरा नसुन्नुहोस्, उनीहरूलाई यसबारे केही थाहा छैन।’
उनले भने, ‘मभन्दा अघिका नेताहरूले यो समस्या धेरै वर्षअघि समाधान गर्नुपर्ने थियो, तर उनीहरूले गरेनन्। म खराब सम्झौता गर्दिनँ।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।