काठमाण्डौ । इरानको राष्ट्रिय फुटबल टोली २०२६ फिफा विश्वकप अवधिभर मेक्सिकोमा बस्ने भएको छ। अमेरिकी प्रशासनले प्रतियोगिताको सम्पूर्ण अवधिमा इरानी टोलीलाई अमेरिकामा बस्न अनुमति नदिएपछि फिफाले मेक्सिकोसँग समन्वय गरेको मेक्सिकी राष्ट्रपति क्लाउडिया शेनबाउमले जानकारी दिएकी छन्।
राष्ट्रपति शेनबाउमका अनुसार इरानी टोलीलाई मेक्सिकोमा बस्न दिन कुनै समस्या नरहेको भन्दै मेक्सिको सरकारले सहमति जनाएको हो। इरानले विश्वकपका आफ्ना समूह चरणका खेलहरू भने अमेरिकामै खेल्नेछ।
फिफाले इरानको प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट मेक्सिकोको सीमावर्ती शहर टिजुआनामा सार्ने निर्णयलाई औपचारिक स्वीकृति दिएको छ। इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले यो परिवर्तनले भिसासम्बन्धी जटिलता कम गर्ने तथा इरान एयरमार्फत सिधा मेक्सिको उडान गर्न सहज हुने बताएका छन्।
इरानले समूह ‘जी’ अन्तर्गत जुन १५ मा लस एन्जलसमा न्यूजिल्यान्डसँग, जुन २१ मा बेल्जियमसँग तथा जुन २६ मा सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
अमेरिका र इरानबीच पछिल्लो समय बढ्दो राजनीतिक तथा सुरक्षा तनावका कारण इरानी टोलीको विश्वकप सहभागिताबारे विभिन्न अड्कलबाजी भइरहेका थिए। केही समयअघि इरानले सुरक्षा कारण देखाउँदै आफ्ना खेलहरू मेक्सिकोमा सार्न फिफासँग छलफल गरेको थियो। यद्यपि फिफाले मूल खेल तालिका परिवर्तन नगर्ने निर्णय गरेको छ।
इरान लगातार चौथोपटक फिफा विश्वकपमा छनोट भएको टोली हो। टोलीले एशियाली छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको थियो।

