काठमाण्डौ । अर्जेन्टिनाले आगामी फिफा विश्वकपका लागि आफ्नो २६ सदस्यीय टोली सार्वजनिक गरेको छ । जसमा कप्तान लियोनल मेस्सीको नाम पनि समावेश गरिएको छ। केही दिनदेखि उनको फिटनेसलाई लिएर उठेको शंकाबीच पनि प्रशिक्षक लियोनेल स्कालोनीले उनलाई टोलीमा राखेका हुन्।
३८ वर्षीय मेस्सीले हालै आफ्नो क्लब इन्टर मियामीका लागि खेलेको अन्तिम खेलमा बायाँ ह्यामस्ट्रिङमा मांसपेशी समस्याका कारण मैदान छाडेका थिए। यद्यपि, प्रारम्भिक मेडिकल रिपोर्टअनुसार उनको चोट गम्भीर नभएको र उनी विश्वकपमा सहभागी हुने सम्भावना बलियो रहेको बताइएको छ।
मेस्सीले यस टोलीमा समावेश भएसँगै आफ्नो रेकर्ड छैटौँ विश्वकप खेल्ने अवसर नजिक पुर्याएका छन्। उनले यसअघि अर्जेन्टिनालाई २०२२ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
अर्जेन्टिनाको टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन देखिन्छ। गोलकिपरमा एमिलियानो मार्टिनेज, डिफेन्समा क्रिस्टियन रोमरो, लिसान्द्रो मार्टिनेज र निकोलस ओटामेन्डी जस्ता खेलाडी रहेका छन्।
मिडफिल्डमा एनजो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र रोड्रिगो डी पाउल जस्ता खेलाडीहरू छन् भने आक्रमणमा जुलियन अल्भारेज र लाउटारो मार्टिनेज प्रमुख हतियारका रूपमा रहनेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।