काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को दश महिनामा कुल वस्तु निर्यात १४.२ प्रतिशतले वृद्धि भई रु.२४८ अर्ब ९६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको दश महिनाको आर्थिक तथ्यांकमा यस्तो देखिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७२.७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १६.१ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४१.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, चाउचाउ, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ को दश महिनामा कुल वस्तु आयात १४.८ प्रतिशतले वृद्धि भई रु.१६ खर्ब ९२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः १०.६ प्रतिशत, २१.४ प्रतिशत र २०.७ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, भटमासको कच्चा तेललगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, दाल, एम.एस. तार, छड, बार,क्वाइललगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ को दश महिनामा कुल वस्तु व्यापार घाटा १४.९ प्रतिशतले वृद्धि भई रु.१४ खर्ब ४३ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.७ प्रतिशतले वृद्धि भएकोे थियो ।

