काठमाण्डौ । गत असोजको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक खण्ड पुनर्निर्माण तीव्र गतिमा अघि बढाइएको छ।
सडक डिभिजन भक्तपुरले अस्थायी डाइभर्सनको सट्टा निर्माणाधीन मुख्य सडक संरचनाबाटै यातायात सञ्चालन गर्ने तयारी गरेको छ।
डिभिजनका अनुसार खोलामाथिका अस्थायी डाइभर्सन बारम्बार बग्ने भएकाले दीर्घकालीन समाधानका रूपमा मुख्य सडक प्रयोगमा ल्याउन लागिएको हो।
असार १५ भित्र आंशिक रूपमा यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ भने जेठ मसान्तसम्म प्रमुख संरचना पूरा गर्ने तयारी छ।
धुलिखेल–खावा खण्डमा बिटुमिन अभाव र मूल्यवृद्धिका कारण कालोपत्रे कार्य प्रभावित भएको छ।
यस समस्याको समाधानका लागि सरकार–सरकार(G2G स्तरमा बिटुमिन आपूर्ति सुनिश्चित गर्ने छलफल भइरहेको छ।
आयोजनाको हालसम्म करिब ३०–३१ प्रतिशत भौतिक प्रगति भएको छ।
बक्सिगुना खण्ड अन्तिम चरणमा पुगेको र केही दिनमै वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्न सकिने तयारी छ।
बाढी प्रभावित २९ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी पुनर्निर्माण भइरहेको छ।
साथै, राजमार्गलाई साँघुरो मार्गबाट ९ मिटर चौडाइको दुई लेन मानक सडकमा स्तरोन्नति गर्ने योजना छ।
यद्यपि पुनर्निर्माण तीव्र भएपनि वर्षायाममा पहिरो र बाढीको जोखिम कायमै रहेको भन्दै प्राविधिक विज्ञहरूले दीर्घकालीन सुरक्षित समाधान आवश्यक रहेको बताएका छन्।

