काठमाण्डौं । विश्वकप फुटबलको समूह ‘एच’ अन्तर्गतको खेलमा साउदी अरेबियाले बलियो प्रतिद्वन्द्वी उरुग्वेलाई १–१ को बराबरीमा रोक्दै महत्वपूर्ण अंक हासिल गरेको छ।
सन् २०२२ को विश्वकपमा अर्जेन्टिनालाई पराजित गर्दै सनसनी मच्चाएको साउदी अरेबिया यसपटक पनि अर्को ठूलो उलटफेरको नजिक पुगेको थियो। पहिलो हाफको ४१औँ मिनेटमा अब्दुलेलाह अल अम्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। हसन अल ताम्बक्तीको शक्तिशाली हेडर उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराले रोके पनि रिबाउन्डमा आएको बललाई अल अम्रीले जाली चुमाएका थिए।
पहिलो हाफमा पछि परेको उरुग्वेले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्यो । प्रशिक्षक मार्सेलो बिएल्साले विश्रामपछि दुई खेलाडी परिवर्तन गर्दै टोलीमा नयाँ ऊर्जा भरेका थिए। त्यसपछि उरुग्वेले लगातार दबाब सिर्जना गर्दै गोलका अवसरहरू बनायो।
साउदी गोलरक्षक मोहम्मद अल ओवैस खेलका प्रमुख नायक बने। उनले उरुग्वेका थुप्रै प्रहार बचाउँदै टोलीलाई लामो समयसम्म अग्रता दिलाइराखे। यद्यपि खेलको ८०औँ मिनेटमा म्याक्सी अराउजोले गोल गर्दै उरुग्वेलाई बराबरीमा फर्काए। फेडेरिको भिनासको हेडर अल ओवैसले रोके पनि फर्किएको बलमा अराउजोले सहज गोल गरेका थिए।
इन्जुरी समयमा पनि अल ओवैसले फेडेरिको भाल्भेर्देको शक्तिशाली प्रहार उत्कृष्ट ढंगले बचाउँदै साउदी अरेबियालाई एक अंक दिलाए।
यसै समूहको अर्को खेलमा केप भर्डेले स्पेनसँग अप्रत्याशित बराबरी खेलेपछि समूह ‘एच’ को प्रतिस्पर्धा थप रोचक बनेको छ। साउदी अरेबिया सन् १९९४ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यसहित अघि बढिरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।