काठमाण्डौ । ह्युस्टनमा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को महत्वपूर्ण खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरण नजिक पुगेको छ।
नेदरल्यान्ड्सको जितमा ब्रायन ब्रोबे र कोडी गाक्पोले समान दुई–दुई गोल गरे। ब्रोबेले खेलको ५औँ र १७औँ मिनेटमा गोल गर्दै टोलीलाई प्रारम्भिक अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुआतमै गाक्पोले ४७औँ र ५४औँ मिनेटमा गोल थप्दै खेललाई एकतर्फी बनाए। अन्त्यतिर क्रिसेन्सियो समरभिलले थप एक गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे।
स्विडेनका लागि एन्थोनी एलाङ्गाले ५९औँ मिनेटमा सान्त्वना गोल फर्काए पनि त्यसले टोलीलाई खेलमा फर्काउन पर्याप्त भएन। स्विडेनले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि नेदरल्यान्ड्सका गोलरक्षक बार्ट भेरब्रुगेनले महत्वपूर्ण बचाउ गर्दै विपक्षीलाई थप गोल गर्नबाट रोके।
जापानसँगको उद्घाटन खेलमा २–२ को बराबरीपछि दबाबमा रहेको प्रशिक्षक रोनाल्ड कोम्यानको टोलीले यस जितसँगै आफ्नो उपाधि दाबेदारीलाई बलियो बनाएको छ। दुई खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्स समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ भने स्विडेन तीन अंकसहित दोस्रो स्थानमा रहेको छ।
अब स्विडेनले अर्को खेलमा जापानको सामना गर्नेछ भने नेदरल्यान्ड्सले ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।