काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छोटो समयमै हासिल गरेको जनसमर्थनलाई उल्लेखनीय र असाधारण उपलब्धि भन्दै प्रशंसा गरेका छन्।
चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन पुगेका थापाले पार्टीले चार वर्षको छोटो अवधिमै जनतामाझ बनाएको प्रभावलाई “लोभलाग्दो” भनेका छन्।
उनले रास्वपाको उदयलाई नेपाली राजनीतिक इतिहासकै दुर्लभ घटनामध्ये एकका रूपमा चित्रण गरे।
सभापति थापाले आफ्नो सम्बोधनमा भने, “पार्टी गठन भएको चार वर्षमै तपाईंहरूले जुन स्तरको जनसमर्थन हासिल गर्नुभएको छ, त्यो साँच्चै लोभलाग्दो छ। म यसलाई मुक्तकण्ठले प्रशंसा गर्छु।”
उनले रास्वपाले प्राप्त गरेको जनमतलाई सामान्य उपलब्धि नभई असाधारण राजनीतिक उभारका रूपमा व्याख्या गरे।
उनका अनुसार नेपाली राजनीतिमा यस्तो स्तरको जनसमर्थन इतिहासमा केही सीमित पटक मात्र देखिएको छ, तर तीमध्ये धेरै अवस्थामा पछि राजनीतिक अस्थिरता र दुर्घटनासमेत भएको स्मरण गराए।
सभापति थापाले रास्वपाको संगठन विस्तारदेखि निर्वाचनसम्मको यात्रालाई समेत प्रभावशाली रहेको उल्लेख गरे।
उनले पार्टी नेतृत्व, विशेषगरी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको भूमिकालाई महत्वपूर्ण भन्दै त्यसमा संलग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई बधाई दिए।
उनका अनुसार रास्वपाले देखाएको गति र जनआकर्षणले परम्परागत राजनीतिक शक्तिहरूलाई पनि आत्ममूल्यांकन गर्न बाध्य बनाएको छ।
उनले आगामी दिनमा रास्वपाले जनअपेक्षा अनुसार जिम्मेवार र स्थायी राजनीतिक अभ्यास गर्नुपर्ने सुझाव पनि दिएका छन्।

