काठमाण्डौ । इङ्ग्ल्यान्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक थोमस टुचेलले विश्वकपमा लागू गरिएको अनिवार्य हाइड्रेशन ब्रेकप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार यी ब्रेकहरूले खेलको गति, लय र पहिचानमै असर पारिरहेका छन्।
म्याचअघि पत्रकारसँग कुरा गर्दै टुचेलले भने, ‘हाइड्रेशन ब्रेक आवश्यक अवस्थामा—विशेषगरी अत्यधिक गर्मीमा उपयोगी भए पनि अहिले सबै खेलमा अनिवार्य रूपमा लागू गर्दा समस्या भइरहेको छ।’उनका अनुसार यसले खेललाई दुई हाफको सट्टा चार भागमा विभाजन गरेको जस्तो देखिन्छ।
टुचेलले यसअघि पनि हाइड्रेशन ब्रेक देखेका बताउँदै ती छोटा र सीमित खेलमा मात्र हुने गरेको बताए। तर अहिले भने प्रत्येक खेलमा लागू गरिँदा खेलको स्वाभाविक लय कायम राख्न कठिन भएको उनको भनाइ छ।
उनका अनुसार ब्रेकका कारण टिमलाई निर्देशन दिन सजिलो भए पनि फुटबलको वास्तविक सौन्दर्य भने निरन्तर खेलमा रहेको हुन्छ। उनले भने, ‘लय बनाउनु र कायम राख्नु गाह्रो हुन्छ, जब खेल बीचबीचमा रोकिन्छ।’
फिफाले तातो मौसम र खेलाडी सुरक्षालाई ध्यानमा राख्दै यो नियम लागू गरेको जनाएको छ। तर आलोचकहरूका अनुसार यसले खेलको प्रवाहमा बाधा पुर्याउनुका साथै व्यावसायिक प्रसारण उद्देश्यलाई पनि सहयोग पुर्याएको देखिन्छ।

