काठमाण्डौ । टोरोन्टो स्टेडियममा मंगलबार सम्पन्न फिफा विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गतको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै अन्तिम ३२ मा पुग्ने आशा जीवित राखेको छ।
क्रोएसियाका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका आन्ते बुडिमिरले ५४औँ मिनेटमा निर्णायक गोल गरे। यो बुडिमिरको विश्वकपमा पहिलो गोल हो। उनले जोसिप स्तानिसिचको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै सहज फिनिस गरेका थिए।
गोल खाएपछि पानामाले बराबरीका लागि लगातार दबाब सिर्जना गरे पनि क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिच उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई अग्रता जोगाउन सफल भए। उनले दोस्रो हाफमा केही महत्वपूर्ण बचाउ गर्दै पानामाको पुनरागमन प्रयास विफल पारे।
यस जितसँगै क्रोएसियाले समूहमा महत्वपूर्ण तीन अंक जोडेको छ। अब शनिबार हुने अन्तिम समूह खेलमा घानामाथि विजय हासिल गरे क्रोएसियाले शीर्ष दुईमा स्थान सुरक्षित गर्दै नकआउट चरणमा प्रवेश गर्नेछ।
यता, लगातार दोस्रो हार बेहोरेको पानामा भने प्रतियोगिताबाट बाहिरिएको छ। विश्वकप इतिहासमा पाँच खेल खेलिसक्दा पनि पानामाले अझै अंक जोड्न सकेको छैन।
समूह ‘एल’ को अर्को खेलमा इङ्ग्ल्यान्ड र घाना गोलरहित बराबरीमा रोकिए, जसपछि दुवै टोलीको चार–चार अंक पुगेको छ। अन्तिम खेलदिवसमा समूहको शीर्ष दुई टोलीको टुंगो लाग्नेछ।

