काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्यमा गिरावट देखिएको छ। आपूर्ति अवरोधसम्बन्धी चिन्ता कम हुँदै गएपछि र मध्यपूर्वको महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुजमा ढुवानी पुनः सामान्यतर्फ फर्किन थालेपछि बजार दबाबमा परेको हो।
ब्रेन्ट क्रुडको मूल्य ३.३२ प्रतिशत अर्थात २.५६ डलरले घट्दै प्रतिब्यारेल ७४.५२ डलरमा झरेको छ। यो मूल्य इरान र अमेरिकाबीच युद्ध शुरु भए यताकै न्यून हो । त्यस्तै, डब्लूटीआई क्रुडको मूल्य ३.११ प्रतिशत अर्थात २.२८ डलरले घटेर प्रतिब्यारेल ७०.९३ डलरमा कारोबार भईरहेको छ ।
बजारमा गिरावट आउनुको प्रमुख कारणमध्ये एक हो, इन्टरनेशल म्यारीटाइम अर्गनाइजेशन(आईएमओ) द्वारा जारी गरिएको पछिल्लो जानकारी, जसअनुसार खाडी क्षेत्रमा अलपत्र परेका ११ हजारभन्दा बढी नाविकहरूलाई सुरक्षित मार्गमार्फत स्ट्रेट अफ हर्मुज पार गर्न अनुमति दिइनेछ।
इरान, ओमान, अमेरिका तथा अन्य क्षेत्रीय पक्षहरूसँगको समन्वयमा सुरक्षित समुद्री मार्ग सुनिश्चित गरिएको बताइएको छ, जसले आपूर्ति श्रृंखलामा देखिएको दबाब कम हुने अपेक्षा गरिएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल कम्पनीहरूलाई पेट्रोलियम मूल्य घटाउने गति पर्याप्त नभएको भन्दै आलोचना गरेका छन्। उनले तेल कम्पनीहरूले उपभोक्तालाई उचित रूपमा मूल्य घटाएर लाभ नदिएको आरोप लगाउँदै अनुसन्धानका लागि न्याय विभागलाई निर्देशन दिएको बताएका छन्।
ऊर्जा विज्ञहरूका अनुसार कच्चा तेलको मूल्य घटे पनि पेट्रोल पम्पमा त्यसको प्रभाव तुरुन्त देखिँदैन। मूल्य निर्धारणमा कर, प्रशोधन लागत र आपूर्ति शृंखला जस्ता तत्वहरू समावेश हुने भएकाले उपभोक्तासम्म असर पुग्न केही हप्ता लाग्ने गर्दछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।