काठमाण्डौ । विश्व फुटबलका दुई उत्कृष्ट फरवार्डमध्ये एक, फ्रान्सका कप्तान किलियन एम्बाप्पे, शुक्रबार बोस्टन स्टेडियममा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डसँग आमनेसामने हुनेछन्।
दुवै टोलीले विश्वकपको समूह चरणका आफ्ना पहिलो दुई खेल जित्दै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन्। यी सफलतामा उनीहरूका प्रमुख स्ट्राइकरहरूको उत्कृष्ट प्रदर्शन निर्णायक बनेको छ। एम्बाप्पे र हालान्ड दुवैले पहिलो दुई खेलमा समान रूपमा दुई(दुई गोल गर्दै प्रतियोगितामा चार–चार गोल पुर्याएका छन्। गोल्डेन बुटको दौडमा भने अर्जेन्टिनाका लियोनेल मेस्सी पाँच गोलसहित शीर्ष स्थानमा छन्।
समूह ‘आई’को शीर्ष स्थान अझै तय हुन बाँकी रहेकाले दुवै टोलीका मुख्य खेलाडी मैदानमा उत्रने अपेक्षा गरिएको छ, यद्यपि उनीहरूले नकआउट चरणको यात्रा सुनिश्चित गरिसकेका छन्। यो खेल समूह विजेता निर्धारण गर्ने मात्र नभई आगामी चरणमा तुलनात्मक रूपमा सहज प्रतिस्पर्धी सामना गर्ने सम्भावनासँग पनि जोडिएको छ।
दुवै खेलाडी आफ्ना क्लबका प्रमुख सदस्य भए पनि राष्ट्रिय टोलीमा उनीहरूको प्रभाव अझ बढी देखिन्छ। अगस्ट २०२२ यता एम्बाप्पे टोलीमा हुँदा फ्रान्सले ६९.८ प्रतिशत खेल जितेको छ, जबकि उनी अनुपस्थित हुँदा यो दर ५० प्रतिशतमा सीमित रहेको छ।
फ्रान्सका सर्वाधिक गोलकर्ता एम्बाप्पेको उपस्थितिले टोलीको आक्रमण अझ प्रभावकारी बनेको छ। सो अवधिमा फ्रान्सले उनी खेल्दा औसत २.३ गोल प्रतिखेल गरेको छ भने उनीबिनाको अवस्थामा यो औसत १.९ गोल मात्र रहेको छ।
नर्वेको तुलनात्मक रूपमा सीमित खेलाडी स्रोतका कारण हालान्डको भूमिका अझ निर्णायक बनेको छ। अगस्ट २०२२ यता हालान्ड टोलीमा हुँदा नर्वेले ६४.५ प्रतिशत खेल जितेको छ, जबकि उनीबिना यो दर ३३.३ प्रतिशत मात्र रहेको छ।
यस विश्वकपमा दुवै खेलाडीले ठूलो प्रतियोगिताको दबाब सहज रूपमा सामना गर्न सक्ने क्षमता पनि प्रमाणित गरेका छन्। यद्यपि गोल्डेन बुटको दौडमा सबैको ध्यान मेस्सीतर्फ केन्द्रित छ, एम्बाप्पेले उनलाई छिट्टै उछिन्न सक्ने संकेत देखिएको छ।
फ्रान्सेली फरवार्डले विश्वकपका १६ खेलमा १६ गोल गरिसकेका छन् र मेस्सीभन्दा केवल दुई गोलले पछाडि छन्। विशेष कुरा, एम्बाप्पे मेस्सीभन्दा १२ वर्ष कान्छा छन्। त्यसैले भविष्यका विश्वकपमा उनको गोल संख्या अझ बढ्ने अपेक्षा गरिएको छ, जबकि यो मेस्सीको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ।
अर्कोतर्फ, हालान्ड आफ्नो पहिलो विश्वकपमै असाधारण प्रदर्शन गरिरहेका छन्। विश्वकप इतिहासमा पहिलो दुई खेलमै लगातार दुई वा बढी गोल गर्ने उनी छैटौं खेलाडी बनेका छन् भने पछिल्लो ५० वर्षमा यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी हुन्। यसअघि सन् २०१८ मा इंग्ल्यान्डका ह्यारी केनले यस्तो कीर्तिमान बनाएका थिए।
नर्वेका लागि हालान्डको पछिल्लो प्रदर्शन झनै प्रभावशाली छ। उनले लगातार १२ प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलमा गोल गरेका छन् भने पछिल्ला ६ खेलमा मात्रै १६ गोल गरेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा समग्र गोल गर्ने दरमा पनि हालान्ड अघि देखिन्छन्। एम्बाप्पेले १०० खेलमा ६० गोल गरेका छन् भने हालान्डले केवल ५२ खेलमै ५९ गोल गरिसकेका छन्।
खेल शैलीमा कस्तो भिन्नता छ ?
प्रतियोगिताका हीट म्यापहरूले दुवै खेलाडी मैदानमा बढी सक्रिय हुने क्षेत्र स्पष्ट देखाउँछन्। यस सिजन क्लब फुटबलका आक्रामक तथ्यांक हेर्दा एम्बाप्पेले शट, बलमा स्पर्श र अवसर सिर्जना गर्ने पक्षमा हालान्डलाई उछिनेका छन्। यद्यपि म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले एसिस्ट गोल बढी गरेका छन्।
ड्रिब्लिङमा भने दुवैबीच उल्लेखनीय अन्तर छ। यस विश्वकपका पहिलो दुई खेलमा एम्बाप्पेले १४ पटक ड्रिब्लिङ प्रयास गरेका छन् भने हालान्डले केवल एकपटक।
तर, अवसरलाई गोलमा परिणत गर्ने दक्षतामा हालान्ड स्पष्ट रूपमा अगाडि छन्। पछिल्ला चार लिग सिजनमा उनले आफ्ना २३.४३ प्रतिशत शटलाई गोलमा परिणत गरेका छन्, जबकि एम्बाप्पेको यो दर १८.२४ प्रतिशत रहेको छ। यस सिजन एम्बाप्पेले अन्तर घटाए पनि हालान्ड अझै केही अघि छन्।
रक्षात्मक योगदानमा पनि एम्बाप्पे पछाडि देखिन्छन्। यस सिजन रियल म्याड्रिडबाट खेलेका उनले युरोपका शीर्ष पाँच लिगमा कम्तीमा ९०० मिनेट खेलेका १,४८३ खेलाडीमध्ये रक्षात्मक योगदानका आधारमा १,४८१औँ स्थान हासिल गरेका छन्।
हालान्डले नर्वेलाई कति टाढासम्म पुर्याउन सक्छन् ?
अन्तर्राष्ट्रिय फुटबलमा पछिल्ला वर्षहरूमा दुवै खेलाडीको गोलमा प्रत्यक्ष संलग्नताले उनीहरूको प्रभाव झनै स्पष्ट पार्छ। अगस्ट २०२२ यता एम्बाप्पे फ्रान्सका ४४ प्रतिशत गोलमा प्रत्यक्ष संलग्न रहेका छन्। उनले यस अवधिमा ३३ गोल र १७ असिस्ट गरेका छन्।
उता हालान्डले ३९ गोल र ४ असिस्ट गर्दै नर्वेका ४३.९ प्रतिशत गोलमा योगदान दिएका छन्। फ्रान्स यस विश्वकपको उपाधि दाबेदार टोलीमध्ये एक मानिएको छ। हालान्ड स्वयंले पनि फ्रान्सले शुक्रबार नर्वेलाई पराजित गर्दै अन्ततः विश्वकप उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्।
यद्यपि, उत्कृष्ट लयमा रहेका हालान्डको उपस्थितिमा नर्वेलाई कमजोर आँक्न मिल्दैन। पेनाल्टी क्षेत्रभित्र अवसरलाई गोलमा बदल्ने उनको असाधारण क्षमता नर्वेका लागि ठूलो हतियार बन्न सक्छ। हालान्ड जस्ता स्ट्राइकर हुँदा नर्वेको महत्वाकांक्षामा सीमा लगाउनु बुद्धिमानी हुनेछैन।

