काठमाण्डौ । मेक्सिकोमा विश्वकप फुटबलमा जितको उत्साह मनाउने क्रममा ३ जनाको मृत्यु भएको छ । बुधबार मेक्सिको र इक्वेडरबीच भएको खेलमा मेक्सिकोले जित हात पारेसँगै उत्साह मनाउने क्रममा मेक्सिकोका ३ जना समर्थकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १९ वर्षिय एक युवतीसहित ४८ वर्षिय महिला र ४४ वर्षिय पुरुष रहेका छन् । उनीहरुको भिडमा निसासिएर मृत्यु भएको जनाइएको छ । इक्वेडरलाई २–० गोल अन्तरले पराजित गरेसँगै ठूलो भिड खेल आयोजना स्थल मेक्सिको सिटीतर्फ अघि बढेको थियो । सोही भिडमा च्यापिएर ३ जनाले ज्यान गुमाएका हुन् ।
खेलका क्रममा १० लाख बढी मानिसहरु मुख्य गरी एन्जल अफ इन्डिपेन्डेन्सको प्रतिमा भएको शहरको मुख्य चोकमा उत्रिएका थिए । मेक्सिकोले ४० वर्षमा पहिलोपटक नकआउट चरणको खेल जितेको खुसीयाली साट्न भेला भएका थिए ।
शहरकी मेयर क्लारा बुरुगाडाले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै प्रभावित परिवारका सदस्यहरुलाई भविष्यमा सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरिन् ।

