काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँबराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार उक्त ऋणपत्र अनलाइन बोलकबोल प्रणालीमार्फत निष्कासन गरिनेछ। बोलकबोल आज दिउँसो ३ बजेसम्म गर्न सकिनेछ। बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा ऋणपत्र निष्कासन गरिने राष्ट्र बैंकले जनाएको छ।
सूचनाअनुसार ऋणपत्रको अवधि एक वर्षको हुनेछ। यसको साँवा भुक्तानी २०८४ असार १९ गते गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ।
राष्ट्र बैंकका अनुसार इच्छुक सहभागीले न्यूनतम ५ करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँले भाग जाने रकममा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। उक्त ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था अर्थात् काउन्टरपार्टी मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलबाट स्वीकृत ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ।
स्वीकृत ऋणपत्र लगानी पोर्टफोलियोमा समावेश गर्न सकिनेछ। तर, यसलाई अनिवार्य नगद मौज्दात अर्थात् सीआरआरमा गणना गर्न पाइने छैन। यद्यपि, वैधानिक तरलता अनुपात अर्थात् एसएलआर र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

