काठमाण्डौ । विश्व फुटबलमा पुस्ताबीचको दुर्लभ भिडन्त हेर्न आज पोर्चुगलका अनुभवी स्टार क्रिस्टियानो रोनाल्डो र स्पेनका किशोर प्रतिभा लामिन यामाल आमनेसामने हुँदैछन्। फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गत हुने यो खेललाई ‘ईब्रियन डर्बी’ को रूपमा हेरिएको छ।
स्पेन र पोर्चुगलले अघिल्लो वर्षको युईएफए नेसन्स लिग फाइनलमा पनि प्रतिस्पर्धा गरेका थिए, जहाँ पोर्चुगलले पेनाल्टी सुटआउटमार्फत जित हात पारेको थियो।
यस पटक भने स्पेन प्रतियोगिताको प्रमुख दाबेदार मानिएको छ। समूह चरणदेखि नै सन्तुलित प्रदर्शन गर्दै आएको स्पेन अझै अपराजित छ र पछिल्ला ३४ खेलदेखि हार व्यहोरेको छैन। उनीहरूको बलियो डिफेन्स र रचनात्मक आक्रमणले टोलीलाई क्वार्टरफाइनल नजिक पुर्याउने अपेक्षा गरिएको छ।
अर्कोतर्फ, पोर्चुगल समूह चरणमा स्थिर प्रदर्शन गर्न संघर्षरत रह्यो। दुई बराबरी र एक जितसहित दोस्रो स्थानमा रहेर नकआउट चरण पुगेको पोर्चुगलले राउन्ड अफ ३२ मा क्रोएसियालाई कठिन खेलमा २–१ ले पराजित गर्दै यात्रा अघि बढाएको हो।
४१ वर्षीय रोनाल्डो यस प्रतियोगितामा पोर्चुगलका सबैभन्दा अनुभवी र प्रभावशाली खेलाडी हुन्। यद्यपि उनको शारीरिक क्षमतामा गिरावट देखिए पनि टोलीमा उनको नेतृत्व अझै महत्वपूर्ण मानिन्छ।
यो विश्वकप उनको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सक्ने अनुमान गरिएको छ। त्यसैले आजको खेल उनको करियरको निर्णायक क्षण बन्न सक्ने सम्भावना छ।
स्पेनका १८ वर्षीय लामिन यामालले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलमा आफूलाई स्थापित गरिरहेका छन्। चोटको आशंकाबीच पनि उनले राउन्ड अफ ३२ मा निर्णायक प्रदर्शन गर्दै स्पेनलाई जित दिलाएका थिए।
विश्लेषकहरूको अनुमानअनुसार स्पेनले जित्ने सम्भावना करिब ४९ प्रतिशत रहेको छ भने पोर्चुगलको सम्भावना करिब २५ प्रतिशत मात्रै रहेको छ। खेल अतिरिक्त समयमा जान सक्ने सम्भावना पनि उल्लेखनीय छ।
दुवै टोलीको ऐतिहासिक भिडन्तमा स्पेनले १८ जित, पोर्चुगलले ७ जित र १६ खेल बराबरीमा टुंगिएको तथ्यांक छ।

