काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपमा तैनाथ अमेरिकी सेनाको संख्या उल्लेखनीय रूपमा घटाउने संकेत दिएका छन्। उनले नेटो सदस्य राष्ट्रहरूले अमेरिकाको सुरक्षामा अत्यधिक निर्भर रहेको र रक्षा खर्चमा पर्याप्त योगदान नगरेको भन्दै असन्तुष्टि जनाएका हुन्।
राष्ट्रपति ट्रम्पले विशेषगरी इरानसँगको तनावका क्रममा नेटोका सहयोगी राष्ट्रहरूबाट अपेक्षित समर्थन नपाएको गुनासो गर्दै आएका छन्। उनका अनुसार अमेरिकाले युरोपको सुरक्षाका लागि ठूलो आर्थिक भार व्यहोर्दै आएको भए पनि त्यसअनुसारको सहयोग र प्रतिबद्धता प्राप्त हुन सकेको छैन।
यसअघि नै अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले युरोपमा हुने दुई सैन्य तैनाथी रद्द गरिसकेको छ भने करिब ५ हजार सैनिक फिर्ता गर्ने निर्णय पनि कार्यान्वयनमा ल्याइसकेको छ। 'अमेरिकाले युरोपको सुरक्षामा सबैभन्दा धेरै खर्च गरिरहेको छ, तर त्यसको उचित प्रतिफल पाएको छैन' ट्रम्पले भने, 'मलाई सहयोगी राष्ट्रहरूको वफादारी चाहिएको हो।'
यता, जर्मनी, फ्रान्सलगायतका युरोपेली देशहरूले पछिल्लो समय आफ्नो रक्षा बजेट बढाउँदै लगेका छन्। नेटोका महासचिव मार्क रुटेले पनि युरोपेली राष्ट्रहरू आफ्नै सुरक्षाको जिम्मेवारी थप मजबुत रूपमा वहन गर्ने दिशामा अघि बढिरहेको बताएका छन्।
रक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञहरूका अनुसार ट्रम्पको यो अभिव्यक्ति केवल सेना फिर्ताको योजना मात्र नभई नेटोभित्र अमेरिकाको भूमिका पुनः परिभाषित गर्न वा सदस्य राष्ट्रहरूमाथि थप दबाब सिर्जना गर्ने रणनीतिक प्रयास हुन सक्ने विश्लेषण गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।