काठमाण्डौ । साविक विश्वविजेता अर्जेन्टिनाले २०२६ फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै ३–२ को रोमाञ्चक जित निकालेको छ। खेलमा २–० ले पछि परेको अवस्थाबाट अन्तिम १४ मिनेटभित्र तीन गोल गर्दै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।
एटलान्टा स्टेडियममा भएको खेलमा इजिप्टले यासेर इब्राहिम र मोस्तफा जिकोको गोलमार्फत २–० को अग्रता बनाएको थियो। इजिप्टका गोलरक्षक मोस्तफा शोबिरले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा लियोनेल मेसीको पेनाल्टी समेत बचाएका थिए।
तर खेलको अन्तिम चरणमा अर्जेन्टिनाले असाधारण पुनरागमन गर्यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले हेडमार्फत पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काए। त्यसपछि ८३औँ मिनेटमा मेसीले शक्तिशाली प्रहारमार्फत बराबरी गोल गरे। इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए।
खेलपछि भावुक बनेका ३९ वर्षीय मेसी आफ्ना सहकर्मीको काँधमा आँसु झार्दै देखिएका थिए। पहिलो हाफमा पेनाल्टी गुमाए पनि निर्णायक समयमा एक असिस्ट र एक गोल गर्दै उनले फेरि एकपटक आफ्नो नेतृत्व क्षमता प्रमाणित गरे।
यो जितसँगै अर्जेन्टिनाले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ, जहाँ उसले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

