सोमबार, श्रावण १८,२०८३ 04:48:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:48:17
Bizshala
Global IME Bank Limited

कांग्रेसमा विभाग नबन्ने, नीति प्रतिष्ठानबाटै विषयगत काम हुने

कांग्रेसमा विभाग नबन्ने, नीति प्रतिष्ठानबाटै विषयगत काम हुने
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसले अब विषयगत विभाग गठन नगर्ने भएको छ । केन्द्रदेखि तल्लो तहसम्म विभाग बनाउने विगतको परम्परालाई हटाउँदै कांग्रेसले विभागले गर्ने काम नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत अघि बढाउने निर्णय गरेको हो ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नै विभागीय प्रकृतिका काम गर्ने कांग्रेस सभापति गगन थापाले जानकारी दिए । उनका अनुसार पार्टीले तय गर्ने विषयगत धारणा, नीति निर्माण, बहस र पैरवी प्रतिष्ठानमार्फत अघि बढाइनेछ ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पारित विधानमा विभागको व्यवस्था हटाइएको थियो । सोही व्यवस्थाअनुसार विभागले गर्ने कामका लागि प्रतिष्ठानअन्तर्गत विभिन्न उपसमिति गठन गरिएको छ । हालसम्म फरक–फरक क्षेत्र हेर्ने गरी १२ वटा उपसमिति गठन भएका छन् ।

नीतिगत तथा समसामयिक विषयमा केन्द्रीय कार्यालयमा पछिल्लो समय निरन्तर अन्तरसंवाद हुँदै आएको छ । नीति प्रतिष्ठानले सञ्चालन गर्दै आएको यस्ता बहसलाई ‘ग्रीन टेबल’ नाम दिइएको छ । नीतिगत विषयमा बहस र समन्वयका लागि कञ्चन झाको नेतृत्वमा उपसमिति गठन गरिएको छ ।

भूमि व्यवस्था, सुकुम्बासी र अव्यवस्थित बसोबासीका दीर्घकालीन समाधानबारे पार्टीको साझा धारणा तयार गर्ने जिम्मेवारी डा. गोपाल दहित नेतृत्वको उपसमितिले पाएको छ । विपद् व्यवस्थापनसम्बन्धी उपसमितिको संयोजकमा मानबहादुर थापा छन् । उक्त उपसमितिले विपद्को पूर्वतयारी, उद्धार तथा पुनर्स्थापनामा सहजीकरण गर्नेछ ।

मानसिक स्वास्थ्य सचेतनाका लागि मोहना अन्सारी, सूचना प्रविधि तथा डिजिटल सुशासनका लागि दिपेश विष्ट र निर्वाचन प्रणाली सुधारसम्बन्धी अवधारणा, संवाद तथा समन्वयका लागि जनक चटौतलाई जिम्मेवारी दिइएको छ ।

पूँजीगत बजेट खर्च प्रणाली सुधार र पूर्वाधार निर्माणको गति बढाउन आवश्यक नीति तथा योजना तर्जुमाका लागि पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमिति बनाइएको छ । उक्त उपसमितिको संयोजन अमृत ज्ञवालीले गर्दै आएका छन् ।

उद्यमशीलता, नवप्रवर्तन र रोजगारसम्बन्धी पार्टीको धारणा निर्माणको संयोजन खगेन्द्र आचार्यले गर्दै आएका छन् । शिक्षा र शिक्षालयबारे पार्टीको अवधारणा निर्माणको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ । पौडेल नेतृत्वको उपसमितिले शिक्षा क्षेत्रका सरोकारवालासँग केन्द्रीय कार्यालयमा बहस र अन्तरक्रिया गरिसकेको छ ।

जेनजी आन्दोलनका क्रममा जलेको कांग्रेस केन्द्रीय कार्यालयको पुनर्व्यवस्थापन गरी त्यसलाई बीपी विचार स्कूलका रूपमा विकास गर्ने जिम्मेवारी प्रकाश लामिछानेले पाएका छन् । जातीय विभेदविरुद्ध सचेतना अभियानको संयोजन एलिजा ढकालले गर्नेछिन् । डिजिटल सचेतना तथा तथ्य जाँचका लागि गठित उपसमितिको संयोजक प्रकृति भट्टराई तोकिएकी छन् ।

उपसभापति शर्माको नेतृत्वमा रहेको नीति प्रतिष्ठानको उपप्रमुखमा केन्द्रीय सदस्य मधु आचार्य छन् भने निर्देशकमा डा. सुरेश आचार्य मनोनित भएका छन् । विधानअनुसार प्रतिष्ठानमा प्रमुखसहित ५१ सदस्य रहने व्यवस्था भए पनि हाल ४७ सदस्यीय समिति गठन भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.