काठमाण्डौ । युरोपेली सांसदहरूले फिफा अध्यक्ष गियानी इन्फान्टिनोको भूमिकामाथि छानबिन गर्न माग गरेका छन्। अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको विश्वकप खेल्न पाउने गरी रातो कार्डपछि लगाइएको प्रतिबन्ध हटाइएको घटनाले फिफाको निर्णय प्रक्रियामाथि प्रश्न उठेपछि यो माग गरिएको हो।
युरोपेली संसद्का केही सदस्यहरूले फिफाको निर्णय प्रक्रियामा कुनै राजनीतिक दबाब वा हस्तक्षेप भएको हो वा होइन भन्ने विषयमा औपचारिक अनुसन्धान गर्न पहल सुरु गरेका छन्। उनीहरूले युरोपेली संघअन्तर्गतका फुटबल संघहरूलाई फिफाको निर्णय प्रणालीको समीक्षा गर्न आग्रह गरेका छन्।
बालोगुनले अमेरिकाको जितमा बोस्नीया एण्ड हर्जगोभनियाविरुद्धको खेलमा रातो कार्ड पाएपछि सामान्य नियमअनुसार अर्को खेल गुमाउनुपर्ने थियो। तर फिफाले उनको प्रतिबन्ध हटाउँदै बेल्जियमविरुद्धको खेलमा सहभागी हुने अनुमति दिएको थियो।
यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इन्फान्टिनोबीच भएको फोन वार्तापछि आएको भन्दै आलोचना भइरहेको छ। ट्रम्पले आफूले बालोगुनको रातो कार्डबारे पुनर्विचार गर्न आग्रह गरेको स्वीकार गरे पनि निर्णय फिफाले स्वतन्त्र रूपमा गरेको बताएका छन्।
युरोपेली सांसदहरू ब्यारी एन्ड्रु लारा वल्टर्स र निल्सले फिफाको निर्णयलाई खेलकुदको निष्पक्षता र पारदर्शिताविरुद्ध भएको बताएका छन्। उनीहरूको पहलमा हालसम्म ३५ भन्दा बढी सांसदले समर्थन जनाएका छन्।
युरोपेली फुटबल महासंघले पनि फिफाको कदमलाई अनुचित भन्दै आलोचना गरेको छ। यूईएफएले यस्तो निर्णयले फुटबलका स्थापित नियम र समान प्रतिस्पर्धाको सिद्धान्तमाथि असर पार्न सक्ने चेतावनी दिएको छ।
फिफाले भने बालोगुनको प्रतिबन्ध हटाउने निर्णय आफ्नो स्वतन्त्र अनुशासन समितिले गरेको स्पष्ट पारेको छ। इन्फान्टिनोले ट्रम्पसँगको कुराकानीमा फिफाको न्यायिक प्रक्रिया स्वतन्त्र रहेको जानकारी गराएको बताएका छन्।
विवादका बाबजुद अमेरिकाले बेल्जियमविरुद्धको खेल ४–१ ले गुमायो र विश्वकपबाट बाहिरियो। तर बालोगुन प्रकरणले फिफाको शासन प्रणाली, राजनीतिक प्रभाव र खेलकुदको निष्पक्षताबारे नयाँ बहस सुरु गरेको छ।

