काठमाण्डौ । अमेरिकी डलरमा आएको सामान्य गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। यद्यपि, अमेरिका र इरानबीच बढ्दो भू–राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य बढेपछि सिर्जना हुने सम्भावित मुद्रास्फीतिलाई नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले ब्याजदर उच्च नै राख्ने आशंका बलियो बनेको छ। यही त्रासका कारण समग्र साताको कारोबारमा भने सुनको मूल्य गिरावटतर्फ धकेलिएको छ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.१७ प्रतिशत अर्थात ४७ डलरले बढ्दै प्रतिऔंस ४ हजार १२१ डलरमा कारोबार भईरहेको छ ।
पछिल्लो समय अमेरिकी डलर एक हप्ताकै न्यून बिन्दुमा झरेपछि डलर बाहेकका अन्य मुद्राधारकका लागि सुन खरिद गर्न केही सस्तो पर्न गएको छ। तथापि, मध्यपूर्वमा बढ्दो सैन्य टकराव र विशेष गरी इरानी सशस्त्र बलले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य पूर्वाधारहरूमा गरेको आक्रमणका कारण कच्चा तेलको मूल्यमा वृद्धि भएको छ।
तेलको मूल्य वृद्धिले विश्वव्यापी रूपमा महँगी बढाउने जोखिम निम्त्याउँछ, जसले अमेरिकी फेडरल रिजर्भलाई आगामी सेप्टेम्बर महिनाको समीक्षामा ब्याजदर थप वृद्धि गर्न बाध्य पार्ने सम्भावनालाई ६४ प्रतिशत पुर्याएको छ।
सामान्यतया बजारमा महँगी बढ्दा सुनलाई एक सुरक्षित लगानीको माध्यम मानिने भए तापनि उच्च ब्याजदरको वातावरणमा सुनजस्ता निश्चित प्रतिफल वा ब्याज नदिने सम्पत्तिको आकर्षण घट्ने गर्दछ।
जबसम्म तेलको मूल्य वर्तमान विन्दुमै नियन्त्रित रहन्छ, तबसम्म मूल्य ओरालो लाग्दा सुनमा खरिदकर्ताहरूको आकर्षण बनिरहने बताइएको छ। तर तेलको मूल्यमा हुने सम्भावित तीव्र वृद्धिले ब्याजदर वृद्धिको डरलाई पुनः जगाउने र यसले सुन बजारमा नकारात्मक असर पार्ने निश्चित भएको विज्ञहरुले बताएका छन् ।
यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज ३.८० प्रतिशतले बढेर प्रतिऔंस ६० डलर कायम भएको छ ।

