काठमाण्डौ । प्रतिपक्षी दलहरूको अवरोध हटेसँगै मधेश प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत गरेको छ।
प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए। निरन्तरको अवरोधका कारण विनियोजन विधेयक सदनमा प्रस्तुत हुन सकेको थिएन।
बजेटसम्बन्धी विवाद समाधानका लागि आइतबार कार्यदल गठन गर्ने सहमति भएपछि प्रतिपक्षी दलहरूले सदनको अवरोध हटाएका हुन्। अवरोध हटेलगत्तै अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत गरेका छन्।
विधेयक प्रस्तुत भएपछि प्रदेशसभाको बैठक आगामी असार ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

