काठमाण्डौ । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएसँगै संगीता पहाडी अर्याल नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदमा पुनर्वहाली भएकी छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असार २६ गते मन्त्रीस्तरीय निर्णय गर्दै पहाडीको निलम्बन फुकुवा गरी पुनः प्रबन्ध निर्देशकको जिम्मेवारीमा फर्काएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी पदबाट निलम्बित भएकी थिइन्।
पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै पहाडीले संस्था र देशको हितका लागि इमानदारीपूर्वक काम गर्दा कसैसँग डराउन नपर्ने बताइन्। आफूमाथि लगाइएका आरोप र सिर्जना गरिएका भ्रम अन्ततः अदालतको फैसलाबाट हटेको उल्लेख गर्दै उनले सत्य स्थापित भएको प्रतिक्रिया दिइन्।
आफ्नो अनुपस्थितिमा कम्पनीको नेतृत्व सम्हाल्ने व्यवस्थापन टोली र कर्मचारीलाई धन्यवाद दिँदै उनले नेपाल टेलिकमलाई थप प्रतिस्पर्धी, व्यावसायिक र ग्राहकमैत्री संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाइन्।
उनले कम्पनीका आन्तरिक प्रक्रिया सुधार गर्दै निर्णय प्रणालीलाई थप प्रभावकारी बनाइने बताइन्। आन्तरिक व्यवस्थापनसँगै ग्राहक र बाह्य सरोकारवालाको दृष्टिकोणलाई समेत प्राथमिकतामा राखेर काम गरिने उनको भनाइ थियो।
नेपाल सरकारको नीति र मार्गनिर्देशनअनुसार टेलिकमप्रतिको जनविश्वास तथा बजारको साख थप बलियो बनाउने उल्लेख गर्दै पहाडीले गुणस्तरीय र सहज दूरसञ्चार सेवा विस्तारलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताइन्।
अख्तियारले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद तथा मर्मत प्रक्रियामा अनियमितता भएको दाबी गर्दै २०८२ जेठ २५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बिगो मागदाबी गरिएको थियो।
तर असार २५ गते फैसला सुनाउँदै विशेष अदालतले बिलिङ प्रणाली खरिद प्रक्रियामा बदनियत तथा भ्रष्टाचारजन्य कसुर पुष्टि नभएको ठहर गरी पहाडीसहित आरोपितलाई सफाइ दिएको थियो। अदालतको फैसलाको भोलिपल्ट मन्त्रालयले उनको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।