मंगलवार, असार ३०,२०८३ 03:57:38
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 03:57:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अर्थमन्त्रीबाट ११० पृष्ठको ‘पूँजीबजार रेस्क्यू प्लान’ स्वीकृत, सार्वजनिक नभएसम्म लगानीकर्ताले सेबोन नछाड्ने

Laxmi Sunrise Bank Limited
अर्थमन्त्रीबाट ११० पृष्ठको ‘पूँजीबजार रेस्क्यू प्लान’ स्वीकृत, सार्वजनिक नभएसम्म लगानीकर्ताले सेबोन नछाड्ने

काठमाण्डौ। निरन्तर ओरालो लागेको सेयर बजार, लगानीकर्तामा बढ्दो निराशा र बजारप्रति कमजोर बन्दै गएको विश्वास पुनःस्थापित गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको करिब ११० पृष्ठ लामो ‘पूँजीबजार रेस्क्यू प्लान’ले अर्थमन्त्रीको स्वीकृति पाएको छ।

सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजारको तत्काल उद्धारसँगै दीर्घकालीन सुधार र आधुनिकीकरणका लागि तयार गरिएको विस्तृत कार्ययोजना अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट स्वीकृत भइसकेको जानकारी दिएका हुन्।

New Office
CG Motors
Garima Development Bank

‘हामीले तयार गरेको कार्ययोजना र एक्सन प्लान माननीय अर्थमन्त्रीज्यूबाट स्वीकृत भइसकेको छ,’ अध्यक्ष भट्टले बिजशालासँग भने, ‘यसलाई थप परिष्कृत गरेर भोलिसम्म सार्वजनिक गर्ने तयारीमा छौँ।’

उनका अनुसार रेस्क्यू प्लानमा आगामी एक वर्षभित्र पूँजीबजारको सुधार, आधुनिकीकरण र शुद्धीकरणका लागि गर्नुपर्ने कामलाई स्पष्ट समयसीमा र जिम्मेवारीसहित समेटिएको छ। तत्काल कार्यान्वयन गर्नुपर्ने कार्यक्रमसँगै मध्यकालीन तथा दीर्घकालीन सुधारका योजनासमेत दस्तावेजमा समावेश गरिएको बताइएको छ।

बजारमा देखिएका संरचनागत कमजोरी हटाउने, नियामकीय क्षमता बलियो बनाउने, कारोबार प्रणालीलाई आधुनिक बनाउने, लगानीकर्ता संरक्षण प्रभावकारी बनाउने तथा बजारमा हुने सम्भावित विकृति र चलखेल नियन्त्रण गर्ने विषय रेस्क्यू प्लानको प्राथमिकतामा रहेको बुझिएको छ।

अध्यक्ष भट्टले योजनाको प्रभावकारी कार्यान्वयनबाट अहिले संकटग्रस्त अवस्थामा पुगेको बजारले नयाँ गति लिने र लगानीकर्तामा गुमेको आत्मविश्वाससमेत फर्किने विश्वास व्यक्त गरेका छन्।

सेबोनमा लगानीकर्ताको दबाब

यसैबीच, बजारका समस्या तत्काल सम्बोधन गर्न माग गर्दै मंगलबारदेखि आन्दोलनमा उत्रिएका सेयर लगानीकर्तालाई सेबोनले छलफलका लागि बोलाएको छ।

आन्दोलनरत लगानीकर्ताका तर्फबाट छ सदस्यीय प्रतिनिधिमण्डल छलफलका लागि सेबोन पुगेको छ। तिलक कोइरालाको नेतृत्वमा पुगेको टोली सेबोन अध्यक्ष भट्टसँग छलफल गर्न बोर्ड परिसरमा प्रतीक्षारत छ।

लगानीकर्ताले आफ्ना सुझावसमेत समेटेर रेस्क्यू प्लान आजै सार्वजनिक गर्नुपर्ने अडान राखेका छन्। उनीहरूले योजनाको सार्वजनिक घोषणा थप ढिला गरिए बुधबारदेखि आन्दोलन सशक्त बनाउने चेतावनी दिएका छन्।

‘आजै रेस्क्यू प्लान सार्वजनिक भएन भने भोलिदेखि हाम्रो सशक्त आन्दोलन सुरु हुन्छ,’ लगानीकर्ता नेता तिलक कोइरालाले भने, ‘कुनै पनि ब्रोकर कार्यालय खोल्न दिँदैनौँ। आज साँझ ७ बजे भर्चुअल माध्यमबाट आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौँ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आजै कि भोलि भन्नेमा रस्साकस्सी

सेबोन नेतृत्व भने रेस्क्यू प्लानलाई अन्तिम रूप दिएर भोलि सार्वजनिक गर्ने तयारीमा देखिएको छ। बोर्डका एक उच्च अधिकारीका अनुसार अध्यक्ष भट्टले आज लगानीकर्तासँग छलफल गरी उनीहरूलाई आश्वस्त पार्ने र भोलि औपचारिक रूपमा योजना सार्वजनिक गर्ने मनस्थिति बनाएका छन्।

‘लगानीकर्तासँगको छलफलपछि योजना आजै सार्वजनिक गर्ने कि भोलि गर्ने भन्ने टुंगो लाग्न सक्छ,’ ती अधिकारीले बिजशालासँग भने।

यससँगै अर्थमन्त्रीबाट स्वीकृत भइसकेको ११० पृष्ठको पूँजीबजार रेस्क्यू प्लानभित्र के–कस्ता तत्कालीन राहतका कार्यक्रम, नीतिगत सुधार र बजार शुद्धीकरणका उपाय समेटिएका छन् भन्ने विषयमा लगानीकर्ताको चासो तीव्र बनेको छ।

बजार सुधारको माग गर्दै आन्दोलन घोषणा गरेका लगानीकर्ता र रेस्क्यू प्लान सार्वजनिक गर्ने तयारीमा रहेको सेबोनबीचको आजको वार्तालाई पूँजीबजारले निकै महत्त्वका साथ हेरिरहेको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.