काठमाण्डौ । नेपाली कांग्रेसले प्रदेशसभालाई प्रतिपक्षीविहीन बनाउने गरी तीन ठूला दल मिलेर सरकार गठन गर्न नहुने स्पष्ट पारेको छ।
कांग्रेस सभापति गगन थापाले प्रदेशमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित संयुक्त सरकार बनाउने प्रस्ताव आएको भए पनि लोकतान्त्रिक अभ्यासविपरीत हुने भन्दै स्वीकार गर्न नसकिने बताएका छन्।
सरकार गठनका लागि कुनै एक दलसँग बहुमत नभएको अवस्थामा दुई दलबीच सहकार्य बाध्यता हुन सक्ने उनको भनाइ छ।
“प्रदेश सरकारमा प्रतिपक्ष नै नरहने गरी तीनवटै ठूला दल मिल्नु अलोकतान्त्रिक हुन्छ,” सभापति थापाले भने, “बरु एमाले र माओवादी मिलेर सरकार बनाए हुन्छ। कांग्रेस सरकारबाहिर बस्न तयार छ। सत्तामा टिक्न जोसँग जस्तोसुकै सम्झौता गर्ने दिन अब गए।”
प्रदेश सरकारमा एमालेसँगको सहकार्यले निरन्तरता नपाउनुको मुख्य कारण एमाले नै रहेको कांग्रेसको निष्कर्ष छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेटमा एमालेले असहयोग गरेपछि दुई दलबीच विवाद चर्किएको थियो।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले सत्ता गठबन्धनमै रहेर एमालेले सरकारले ल्याएको बजेटको स्वामित्व लिन अस्वीकार गरेको आरोप लगाए।
“सुदूरपश्चिममा विपक्षी दलका कारण सरकारलाई समस्या परेको होइन,” पौडेलले भने, “एमालेले बजेट पुनर्लेखनको माग राख्यो। बजेट पुनर्लेखन गर्न समय पनि थिएन। अन्य प्रदेशमा एमालेका मुख्यमन्त्रीलाई कांग्रेसले कुनै अप्ठ्यारो पारेको थिएन।”
प्रदेश सरकारमा देखिएको विवाद समाधान गर्न कांग्रेसका शीर्ष नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। ओलीले प्रदेश सरकारमा नेकपालाई समेत सहभागी गराउने प्रस्ताव राखेको कांग्रेस नेताहरूको भनाइ छ।
तर नेकपालाई समेत सरकारमा सहभागी गराउँदा प्रदेशसभा प्रतिपक्षीविहीन हुने भन्दै कांग्रेसले कांग्रेस–एमालेबीचको दुईदलीय सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखेको थियो।
कांग्रेसले एमालेसँगको सत्ता सहकार्य टुंगिएको निष्कर्ष निकालेको छ। यद्यपि नेकपासँग सहकार्य गर्ने विकल्प भने खुला राखिएको जनाएको छ।
दुई दलबीचको विवादपछि प्रदेश सरकारका मन्त्रीहरूले राजीनामा दिने र बर्खास्त हुने क्रमसमेत सुरु भएको छ। एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्रीले राजीनामा दिइसकेका छन्।
यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेका छन्।

