काठमाण्डौ । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बीमासम्बन्धी कसुरका मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले एक सातासम्म चलेको थुनछेक बहसपछि बिहीबार उक्त आदेश जारी गरेको हो।
अदालतले बीमासम्बन्धी कसुरमा अग्रवालसँग २ करोड रुपैयाँ र भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी मागेको छ। धितोपत्रसम्बन्धी कसुरमा भने अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ तथा भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गरिएको छ।
यसैगरी, हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्रीसँग सम्बन्धित अर्को मुद्दामा अदालतले अग्रवालसँग थप २ करोड ३० लाख रुपैयाँ धरौटी मागेको छ।
तोकिएको धरौटी बुझाएपछि उनीहरू थुनामुक्त हुनेछन्। धरौटी बुझाउन नसकेको अवस्थामा भने मुद्दाको पुर्पक्षका लागि थुनामा पठाइनेछ।


