काठमाण्डौ । सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच समस्या समाधानका लागि अन्तिम तथा निर्णायक वार्ता सुरु भएको छ। सिंहदरबारमा जारी वार्ताबाट सहमतिको टुंगो लगाउँदै आजै लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ।
सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य छन्।
पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व)का अवधेश कुसवाहले गरेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का किरण परियार र कैलालीका निर्गराज जैसी सहभागी छन्।
बिहीबार पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी टोली र आन्दोलनरत पक्षबीच लामो तथा सघन छलफल भएको थियो। सोही छलफलमा भएका समझदारीलाई आधार बनाएर शुक्रबार अन्तिम सहमतिपत्र तयार पार्ने प्रयास भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
वार्तामा मिटरब्याजलाई गम्भीर आर्थिक अपराधका रूपमा सम्बोधन गर्ने, पीडितलाई शीघ्र न्याय दिलाउने कानुनी तथा संस्थागत संरचना निर्माण गर्ने र विगतका सहमति प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषय प्रमुख रूपमा उठाइएको छ।
दुवै पक्षबीच सहमति जुटेमा लामो समयदेखि आन्दोलनरत मिटरब्याज पीडितको आन्दोलन स्थगित हुने र समस्या समाधानका लागि सरकारले औपचारिक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

