काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्साको वीरगञ्जमा ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ खर्चेर जग्गा खरिद गरेको छ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पत्र पठाउँदै वीरगञ्ज महानगरपालिका–४ मा रहेको होटल मकालु प्रालिको नाममा दर्ता जग्गा खरिद गरेको जानकारी दिएको हो।
कम्पनीका अनुसार कित्ता नम्बर २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ अन्तर्गत रहेको कुल ८७.५३ धुर अर्थात् एक हजार ४८२ वर्गमिटर क्षेत्रफलको जग्गा खरिद गरिएको छ।
उक्त जग्गाको मूल्य ३२ करोड रुपैयाँ रहेको छ। रजिस्ट्रेसन तथा नामसारी सेवा शुल्कबापत थप एक करोड ७७ लाख ५० हजार रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ। यसअनुसार जग्गा खरिदमा कम्पनीको कुल लागत ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ पुगेको हो।
नेपाल लाइफले आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिन असार ३२ गते उक्त जग्गा खरिद गरेको जनाएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार जग्गा खरिद गरिएको हो।
खरिद गरिएको जग्गालाई कम्पनीले व्यावसायिक तथा कार्यालय प्रयोजनका लागि प्रयोग गर्ने जनाएको छ। नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेप्सेलाई पत्र लेख्दै जग्गा खरिदसम्बन्धी विवरण सार्वजनिक गरेका हुन्।
सूचीकृत कम्पनीले गर्ने ठूलो रकमको सम्पत्ति खरिदलाई मूल्य संवेदनशील सूचना मानिने भएकाले नेपाल लाइफले उक्त कारोबारबारे नेप्सेलाई जानकारी गराएको हो।

