काठमाण्डौ । भारतले स्वदेशमै विकास गरेको पहिलो हाइड्रोजन इन्धनबाट चल्ने यात्रुवाहक ट्रेन सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हरियाणाको जिन्द रेलवे स्टेशनबाट जिन्द–सोनिपत रुटमा चल्ने ट्रेनको उद्घाटन गरेका हुन्।
हाइड्रोजन फ्युल सेल प्रविधिमा आधारित ट्रेनले हाइड्रोजन र अक्सिजनको रासायनिक प्रक्रियाबाट विद्युत् उत्पादन गर्छ। सञ्चालनका क्रममा पानीको बाफ मात्रै निस्कने भएकाले ट्रेनबाट प्रत्यक्ष कार्बन उत्सर्जन हुँदैन। डिजेल ट्रेनको तुलनामा यसले ध्वनि तथा वायु प्रदूषणसमेत उल्लेख्य रूपमा घटाउने बताइएको छ।
भारतमै डिजाइन, इन्जिनियरिङ र निर्माण गरिएको ट्रेनमा दुईवटा हाइड्रोजनचालित ड्राइभिङ कारसहित आठवटा यात्रुवाहक डिब्बा छन्। कुल १० डिब्बाको ट्रेनमा करिब दुई हजार ६ सय यात्रुले यात्रा गर्न सक्नेछन्। यसको प्रोपल्सन प्रणाली तीन हजार दुई सय हर्सपावर क्षमताको रहेको छ, जसका कारण यसलाई विश्वका लामो र शक्तिशाली हाइड्रोजन ट्रेनमध्ये एक मानिएको छ।
करिब ८९ किलोमिटर लामो जिन्द–सोनिपत रुटमा ट्रेनलाई अधिकतम ७५ किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन गर्न स्वीकृति दिइएको छ। ट्रेनको डिजाइन गति भने ११० किलोमिटर प्रतिघण्टा रहेको छ।
हाइड्रोजनबाट ट्रेनमै विद्युत् उत्पादन हुने भएकाले यसलाई सञ्चालन गर्न सम्पूर्ण रुटमा विद्युतीय तारको संरचना आवश्यक पर्दैन। विशेषगरी पूर्ण रूपमा विद्युतीकरण नभएका रेलमार्गमा डिजेलको विकल्पका रूपमा यो प्रविधि उपयोगी हुने भारतीय अधिकारीहरूको भनाइ छ।
पाइलट परियोजनाअन्तर्गत जिन्दमा हाइड्रोजन भण्डारण तथा इन्धन भर्ने पूर्वाधारसमेत निर्माण गरिएको छ। परीक्षणबाट प्राप्त अनुभवका आधारमा भारतीय रेल्वेले भविष्यमा अन्य रुटमा पनि हाइड्रोजन प्रविधि विस्तार गर्ने योजना बनाएको छ। यससँगै भारत हाइड्रोजन ट्रेन सञ्चालन गर्ने सीमित मुलुकको सूचीमा समावेश भएको छ।
प्रधानमन्त्री मोदीले सोही अवसरमा हरियाणामा भारतीय रुपैयाँ १२ हजार ४७० करोडभन्दा बढीका राष्ट्रिय राजमार्ग आयोजनाको उद्घाटन तथा शिलान्याससमेत गरेका छन्। उनले दिल्ली–अमृतसर–कटरा एक्सप्रेसवेको १५७.९२ किलोमिटर खण्ड राष्ट्रलाई समर्पण गरेका हुन्। उक्त खण्ड सञ्चालनमा आएपछि दिल्लीबाट कटरा पुग्न लाग्ने समय करिब १४ घण्टाबाट ६ घण्टामा झर्ने अपेक्षा गरिएको छ।

