काठमाण्डौ । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण विश्व उर्जा बजारमा अनिश्चितता बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लागेको छ। सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा माथि पुगेको छ।
ब्रेन्ट क्रुडको मूल्य २.३३ प्रतिशत अर्थात २.०५ डलरले बढेर प्रतिब्यारे।ल ९०.१५ डलर पुगेको छ। यो मूल्य गत जुन ११ यताकै उच्च स्तर हो। यसअघि गत साता ब्रेन्ट क्रुडको मूल्य १५.९ प्रतिशतले बढेको थियो, जुन अप्रिलपछिको सबैभन्दा ठूलो साप्ताहिक वृद्धि हो।
त्यस्तै, डब्लूटीआई क्रुडको मूल्य पनि २.१३ प्रतिशत अर्थात १.७६ डलरले बढेर प्रतिब्यारेल ८४.२५ डलर कायम भएकाके छ । तेलको मूल्य वृद्धिको मुख्य कारण मध्यपूर्वमा चर्किएको द्वन्द्व र रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै हुने तेल ढुवानीमा देखिएको अवरोध हो। विश्वको करिब पाँच भागको एक भाग तेल व्यापार यही समुद्री मार्गबाट हुने भएकाले आपूर्ति प्रभावित हुने डरले बजारमा दबाब बढेको छ।
पछिल्ला दिनहरूमा अमेरिका र इरानबीच लगातार सैन्य आक्रमण भइरहेका छन्। अमेरिकाले इरानमाथि लगातार नवौँ रात आक्रमण गरेको र इरानसँग सम्बन्धित पक्षहरूले खाडी क्षेत्रमा रहेका केही अमेरिकी सहयोगी मुलुकहरूमा आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएका छन्।
इरानी रिभोलुसनरी गार्डले स्ट्रेट अफ हर्मुज पार गर्ने क्रममा दुईवटा तेल ट्यांकर विस्फोट भएको दाबी गरेको छ। यस घटनाले समुद्री यातायात र विश्वव्यापी ऊर्जा आपूर्तिप्रति थप चिन्ता बढाएको छ।

