काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार गठन तथा सत्ता समीकरण परिवर्तन गर्दा कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन हुन नहुने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले सबै राजनीतिक दल सरकारमा सहभागी हुने अवस्था लोकतान्त्रिक प्रणाली र संविधानको मर्मअनुकूल नहुने स्पष्ट पारे।
उनले आवश्यक परे कांग्रेस स्वयं प्रतिपक्षमा बस्नसमेत तयार रहेको बताए।
‘प्रदेश सरकार गठन वा हेरफेर हुँदा प्रतिपक्षविहीन अवस्थाको परिकल्पना गरेर टुङ्गोमा पुग्न सकिँदैन,’ शर्माले भने, ‘आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्न तयार हुन्छ, तर नागरिकको मनोविज्ञानविपरीत सबै दल सरकारमै बस्नुपर्छ भन्ने हाम्रो धारणा होइन।’
प्रदेश सरकारमा सहभागी दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै उनले त्यसको समाधानका लागि आन्तरिक संवाद भइरहेको जानकारी दिए। सार्वजनिक रूपमा आरोप–प्रत्यारोप गर्नुभन्दा राजनीतिक दलहरूको सहअस्तित्व र संवादबाट समाधान खोजिने उनको भनाइ छ।
‘कांग्रेसमात्र होइन, सबै दलको सहअस्तित्व कायम हुने गरी प्रदेश सरकारका विषयमा टुङ्गोमा पुग्ने प्रयास भइरहेको छ,’ उनले भने।
शर्माले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका दलहरूले नै अहिले संविधानको आधारभूत भावना उल्लङ्घन गर्न नहुने बताए।
‘कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन हुनुहुँदैन भन्ने कांग्रेसको स्पष्ट बटमलाइन हो,’ उनले भने, ‘संविधान संशोधनबारे संवाद चलिरहेका बेला संविधानको मूल मर्मलाई उल्लङ्घन गर्ने काम स्वीकार्य हुँदैन।’

