काठमाण्डौ । नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले उक्त कर अनुपयुक्त रहेको विषय आफूहरूले सुरुदेखि नै उठाउँदै आएको बताएका छन्। निजी अस्पताल र विद्यालयको सेवा लिने सबै नागरिक सम्पन्न नहुने उल्लेख गर्दै उनले धेरैका लागि निजी सेवा विलासिता नभई बाध्यता भएको बताएका छन्।
निजी क्षेत्र देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार रहेको उल्लेख गर्दै थापाले सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थपेर समस्याको समाधान नहुने धारणा राखेका छन्।
‘समता शुल्क लागू गर्नु समानताको नीति थिएन, बरु असमानतालाई अझ बढावा दिने व्यवस्था थियो,’ उनले भनेका छन्, ‘सरकारले आर्थिक र सामाजिक यथार्थ स्वीकार गर्दै उक्त व्यवस्था खारेज गर्नु सही निर्णय हो।’
सरकारको निर्णय कार्यान्वयनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया रीतपूर्वक पूरा गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
थापाले समता करजस्तै बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि करसहित अन्य अव्यावहारिक कर र नीतिगत त्रुटिसमेत सच्याउन सरकारसँग माग गरेका छन्।
‘सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्म बुझोस्,’ उनले भनेका छन्।

