काठमाण्डौ । ताइवानको इलेक्ट्रोनिक्स उत्पादन कम्पनी विस्ट्रोनले अमेरिकाको टेक्सासमा ७० करोड अमेरिकी डलर लगानीमा निर्माण गरेको अत्याधुनिक एआई उत्पादन केन्द्र सञ्चालनमा ल्याएको छ।
टेक्सासको फोर्ट वर्थमा स्थापना गरिएको ‘डी–१ एआई स्मार्ट फ्यासिलिटी’बाट अमेरिकी चिप निर्माता एनभिडियाका अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रणाली तथा सुपरचिप उत्पादन गरिनेछ। करिब तीन लाख २४ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको कारखानाको उद्घाटन विस्ट्रोनका अध्यक्ष साइमन लिन र एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले गरेका हुन्।
विस्ट्रोनका अनुसार अमेरिकामा पहिलोपटक एनभिडियाको ‘जीबी–३०० ग्रेस ब्ल्याकवेल अल्ट्रा सुपरचिप’ यही कारखानामा निर्माण तथा ठूलो परिमाणमा उत्पादन गरिएको हो। कारखानाले हाल ग्रेस ब्ल्याकवेल अल्ट्रा प्रणाली उत्पादन गरिरहेको छ भने आगामी चरणमा एनभिडियाको नयाँ पुस्ताको ‘भेरा रुबिन सुपरचिप’समेत उत्पादन गर्ने तयारी छ।
विश्वव्यापी रूपमा एआई डेटा सेन्टर, सुपरकम्प्युटर र उच्च क्षमताका सर्भरको माग तीव्र गतिमा बढिरहेका बेला विस्ट्रोनले अमेरिकामै उत्पादन क्षमता विस्तार गरेको हो। यसले एनभिडियाको आपूर्ति शृङ्खला बलियो बनाउनुका साथै अमेरिकी बजारमा एआई हार्डवेयरको उत्पादन र उपलब्धता बढाउने अपेक्षा गरिएको छ।
एनभिडियाले यसअघि विस्ट्रोनसँग टेक्सास र फक्सकनसँग ह्युस्टनमा एआई सुपरकम्प्युटर उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो। कम्पनीले आगामी केही वर्षमा अमेरिकाभित्रै ठूलो परिमाणमा एआई पूर्वाधार निर्माण तथा उत्पादन गर्ने रणनीति अघि सारेको छ।
विस्ट्रोनको नयाँ कारखाना सञ्चालनसँगै ताइवानका प्रविधि उत्पादक कम्पनीहरूले आफ्नो उत्पादन आधार अमेरिकातर्फ विस्तार गर्ने क्रमले थप गति लिएको छ। बढ्दो एआई माग, आपूर्ति शृङ्खलाको विविधीकरण र रणनीतिक उत्पादनलाई बजारनजिक लैजाने नीतिका कारण यस्तो लगानी बढिरहेको विश्लेषण गरिएको छ।

