काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब २३ करोड ४० लाख ५ हजार रुपैयाँको तुलनामा १९.९८ प्रतिशतले कम हो।
खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५.७१ रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा घटेर ४.५७ रुपैयाँमा सीमित भएको छ।
बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकले १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.८९ प्रतिशतले कम हो ।
त्यस्तै, खुद सञ्चालन आम्दानी पनि घटेर १ अर्ब ७१ करोड ७५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी २ अर्ब १० करोड ५३ लाख रुपैयाँ रहेको थियो।
बैंकको सञ्चालन नाफा पनि १९.७९ प्रतिशतले घटेर १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष सोही अवधिमा सञ्चालन नाफा १ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ थियो।
बैंकको इम्पेयरमेन्ट चार्ज २१ करोड २७ लाख रुपैयाँले रिभर्सल भएको छ । यस्तै बैंकको निष्क्रिय कर्जा(एनपील) शुन्य प्रतिशत रहेको छ भने रिर्टन अन इक्विटी ३.८७ प्रतिशत र कस्ट अफ फण्ड ६.४६ प्रतिशत रहेको छ ।
बैंकको निक्षेप ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँबाट बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३१ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११७.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५३.७३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९३.७४ रुपैयाँ र तरलता अनुपात ८३.४७ गुणा कायम भएको छ ।

