काठमाण्डौ । अमेरिका र साउदी अरबले ऐतिहासिक परमाणु सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्। यस सम्झौताले साउदी अरबलाई नागरिक प्रयोजनका लागि परमाणु ऊर्जा कार्यक्रम विकास गर्ने बाटो खोल्ने भएको छ।
अमेरिकी उर्जा विभागका अनुसार यो सम्झौता शान्तिपूर्ण परमाणु सहयोग सम्झौता हो। सम्झौताअन्तर्गत अमेरिकी कम्पनीहरूले साउदी अरबको परमाणु उर्जा कार्यक्रम विकासमा ठूलो भूमिका खेल्ने अवसर पाउनेछन्।
सम्झौताको पूर्ण विवरण सार्वजनिक गरिएको छैन। तर अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार भविष्यमा यसअन्तर्गत साउदी अरबलाई युरेनियम संवर्द्धन गर्ने अनुमति दिन सकिने सम्भावना छ।
परमाणु उर्जा उत्पादनका लागि प्रयोग हुने संवर्द्धित युरेनियमलाई परमाणु विद्युत् केन्द्रको इन्धनका रूपमा प्रयोग गरिन्छ। तर यही प्रविधि परमाणु हतियार निर्माणका लागि पनि प्रयोग हुन सक्ने भएकाले सुरक्षा विज्ञहरूले यस विषयमा चिन्ता व्यक्त गरेका छन्।
यदि साउदी अरबलाई युरेनियम संवर्द्धनको अनुमति दिइयो भने यो अमेरिका पक्षबाट हुने पहिलो यस्तो व्यवस्था हुन सक्ने विश्लेषण गरिएको छ। यसले पहिलेदेखि नै संवेदनशील रहेको पश्चिम एसियाली क्षेत्रमा परमाणु हतियार विस्तारको जोखिम बढाउन सक्ने समेत जनाइएको छ ।
अमेरिकी उर्जा विभागले परमाणु सहयोग सम्झौतासँगै दुवै देशबीच द्विपक्षीय सुरक्षा निगरानीसम्बन्धी सम्झौता समेत भएको जनाएको छ।

