काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव समारोहस्थलबाहिर शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन भएको छ।
विश्वविद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पुगेका शिक्षामन्त्री पोख्रेललाई लक्षित गर्दै युवाहरूले ‘नेपो बेबी मुर्दावाद’लगायतका नारा लगाएका थिए। प्रदर्शनमा सहभागी पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रदर्शनकारी युवाहरूले विश्वविद्यालयमा योग्यता र क्षमताका आधारमा नियुक्ति हुने मेरिटोक्रेसी प्रणाली लागू गर्नुपर्ने माग गरेका थिए। उनीहरूले प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था खारेज गर्नुपर्ने तथा विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मागसमेत राखेका छन्।
युवाहरूले आफ्ना माग उल्लेख गरिएका प्लेकार्ड बोकेर कार्यक्रमस्थलबाहिर नाराबाजी गरेका थिए। प्रदर्शनपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

