काठमाण्डौ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले पुनः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएकी छन्।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि वरिष्ठताका आधारमा मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी दिइएको हो।
शर्मा प्रधानन्यायाधीश नियुक्त हुनुअघि पनि मल्लले लामो समयसम्म कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन्। प्रधानन्यायाधीश नियुक्तिमा आफूलाई पछाडि पारिएको भन्दै उनी असन्तुष्ट रहेको चर्चा चलेको थियो। शर्मा पदभार ग्रहण गर्ने कार्यक्रममा उनी अनुपस्थित थिइन् र त्यसैदिनदेखि २० दिन बिदामा बसेकी थिइन्।
यद्यपि बिहीबार साँझ प्रधानन्यायाधीश शर्मालाई भारत भ्रमणका लागि बिदाइ गर्न मल्ल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।
गत वैशाख २४ गते संवैधानिक परिषद्ले वरीयतामा चौथो स्थानमा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। उनी जेठ ५ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए।
भारतका प्रधानन्यायाधीश सूर्य कान्तको निमन्त्रणामा शर्मा नेतृत्वको टोली बिहीबार भारत गएको हो। भ्रमणका क्रममा भारतको सर्वोच्च अदालत अवलोकन गर्ने कार्यक्रम छ।
भ्रमण टोलीमा शर्माकी पत्नी उमा शर्मा र सर्वोच्च अदालतका सहरजिस्ट्रार अमित उप्रेती सहभागी छन्। शर्मा साउन ११ गते स्वदेश फर्कने कार्यक्रम छ।

