काठमाण्डौ। अमेरिका र इरानबीच रोकिएको शान्ति वार्ता पुनः सुरु गराउने प्रयास भइरहेको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ। यद्यपि, मध्यपूर्वमा बढेको तनावका कारण तेलको मूल्य साप्ताहिक रुपमा भने वृद्धिको बाटोमै रहेको छ।
चीनले अमेरिका र इरानबीच रोकिएको वार्ता पुनः अघि बढाउन पहल थालेको छ। वार्ताको सम्भावनाले आपूर्ति जोखिम कम हुने अपेक्षा बढाएपछि लगानीकर्ताले तेल खरिदमा केही सतर्कता अपनाएका हुन्।
पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ३.८८ प्रतिशत अर्थात ३.९१ डलरले घटेर प्रतिब्यारेल ९६.७८ डलर पुगेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ३.१२ प्रतिशत अर्थात २.८८ डलरले घटेर प्रतिब्यारेल ८९.३१ डलरमा सीमित बनेको छ ।
विश्व उर्जा आपूर्ति अझै संवेदनशील अवस्थामा रहेको जनाइएको छ। स्ट्रेट अफ हर्मुजमार्फत तेल ढुवानीमा आएको कमी, लालसागर क्षेत्रमा हुथी विद्रोहीको गतिविधि तथा अमेरिका–इरान तनावले बजारमा अनिश्चितता कायम राखेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र उसका सहयोगी हुथी समूहविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिएपछि मध्यपूर्वको तनाव थप बढेको थियो। हुथी समूहले लालसागर क्षेत्रमा साउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दीको घोषणा गरेको थियो।
तर पछिल्लो तथ्यांकले जलमार्ग पूर्ण रूपमा बन्द नभएको संकेत गरेको छ। जहाज ट्र्याकिङ तथ्यांकअनुसार स्ट्रेट अफ हर्मुजबाट सीमित संख्यामा भए पनि जहाज आवतजावत जारी रहेको छ। यो अवस्थाले तत्काल पूर्ण आपूर्ति अवरोधको जोखिम कम देखाएको छ।
जेपी मोर्गनका विश्लेषकहरूले तेल आपूर्तिमा अवरोध थप एक महिना लम्बिएमा ब्रेन्टको मूल्य प्रतिब्यारेल करिब ७ देखि ८ डलरसम्म बढ्न सक्ने अनुमान गरेका छन्। तीन महिनासम्म अवरोध कायम रहे मासिक औसत मूल्य करिब ११४ डलरसम्म पुग्न सक्ने उनीहरूको प्रक्षेपण छ।

