काठमाण्डौ । पूर्वाधार विकास मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदाको अवधि समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका नेपाल इन्जिनियरिङ सेवाका सात जना इन्जिनियरसँग ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
मन्त्रालयले साउन १२ गते प्रकाशित सूचनामार्फत नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, राजपत्राङ्कित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई निजामती सेवा ऐन, २०४९ को व्यवस्था अनुसार स्पष्टीकरण पेश गर्न भनेको हो।
मन्त्रालयका अनुसार यसअघि असार २३ गते राष्ट्रिय दैनिक गोरखापत्र तथा मन्त्रालयको वेबसाइटमार्फत १५ दिनभित्र सफाइ पेश गर्न सूचना प्रकाशित गरिएको थियो। तर केही कर्मचारीले तोकिएको अवधिभित्र सफाइ पेश नगरेका तथा सफाइ पेश गर्नेहरूको स्पष्टीकरण पनि सन्तोषजनक नभएको मन्त्रालयले जनाएको छ।
सूचनाअनुसार पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिम कसुर गरेको आधारमा कारबाही अघि बढाउने तयारी गरिएको छ।
मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख) को उपखण्ड (१) तथा निजामती सेवा नियमावली, २०५० को नियम ११०(ख) बमोजिम किन सजाय नगर्ने भन्ने विषयमा सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
तोकिएको अवधिभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश नगरे स्थायी रूपमै सेवाबाट पदमुक्त गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

