काठमाण्डौ । अमेरिकी डलर मजबुत बनेपछि मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। यो समाचार तयार पार्दासम्म सुनको मूल्य १.०५ प्रतिशत अर्थात ४२ डलरले घटेर प्रतिऔंस ४ हजार ४९ डलरमा कारोबार भईरहेको छ।
यसअघि सोमबार सुनको मूल्य करिब १ प्रतिशतसम्म बढेको थियो।
अमेरिकी डलर एक महिनाकै उच्च स्तर नजिक पुगेपछि अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि डलरमा मूल्य निर्धारण हुने सुन महँगो बनेको हो।
फेडरल रिजर्भको दुई दिने बैठक बुधबार सम्पन्न हुँदैछ। बजार सहभागीमध्ये केहीले ब्याजदर स्थिर रहने अपेक्षा गरेका छन् भने केहीले २५ आधार अंकसम्म वृद्धि हुन सक्ने अनुमान गरेका छन्। सेप्टेम्बरको बैठकमा ब्याजदर वृद्धिको सम्भावनालाई पनि बजारले उच्च रूपमा मूल्यांकन गरिरहेको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार फेडलाई ब्याजदर घटाउन आग्रह गर्दै अमेरिकामा विश्वकै सबैभन्दा कम ब्याजदर हुनुपर्ने बताएका थिए। उनले अमेरिका र इरानबीच वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरे पनि वार्ता असफल भए पुनः सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका थिए।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ३.४० प्रतिशत अर्थात २ डलरले घट्दै प्रतिऔंस ५७ डलरमा कारोबार भईरहेको छ ।

