काठमाण्डौ । झण्डै दुई अर्ब रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको सत्यदेवी गाउँपालिका–८ स्थायी घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–८ मा बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल रहेका छन्।
सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार शंकास्पद बैंकिङ कारोबारको विश्लेषण गर्ने क्रममा रिजालले अन्य व्यक्तिहरूसँग मिलेमतो गरी हुण्डीमार्फत ठूलो रकम कारोबार गरेको देखिएको हो।
प्रारम्भिक अनुसन्धानमा रिजालसँग जोडिएको हुण्डी कारोबारको परिमाण एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ रहेको सीआईबीले जनाएको छ।
रिजाललाई पक्राउ गर्न ब्युरोले मंगलबार काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएको थियो। अदालतको अनुमतिपछि उनलाई सोही दिन साँझ नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
सीआईबीले उक्त कारोबारमा अरू व्यक्तिको संलग्नता रहे–नरहेको, रकमको स्रोत, प्रयोग भएका बैंक खाता तथा कारोबारको सञ्जालबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
हुण्डी कारोबार नेपालको प्रचलित कानुनअनुसार गैरकानुनी मानिन्छ। यस्ता कारोबार औपचारिक बैंकिङ प्रणालीबाहिर हुने भएकाले विदेशी विनिमय अपचलन, सम्पत्ति शुद्धीकरण तथा राजस्व चुहावटसँग समेत जोडिएर अनुसन्धान हुने गरेको छ।

