काठमाण्डौ । अमेरिकी फेडरल रिजर्भले ब्याजदर यथावत् राखेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बिहीबार सामान्य रूपमा बढेको छ। लगानीकर्ताले फेडका अध्यक्ष केभिन वार्शको मुद्रास्फीति नियन्त्रणसम्बन्धी अभिव्यक्तिको मूल्याङ्कन गरिरहेका बेला सुनको मूल्यमा वृद्धि देखिएको हो।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.३३ प्रतिशत अर्थात १३.८३ डलरले बढेर प्रतिऔंस ४ हजार ५२ डलर पुगेको छ । बुधबार भने सुनको मूल्य एकसमय २ प्रतिशतसम्म उकालो लागेको थियो।
फेडरल रिजर्भले पछिल्लो मौद्रिक नीति बैठकमा ब्याजदर स्थिर राख्ने निर्णय गरे पनि अध्यक्ष वार्शले मुद्रास्फीति नियन्त्रणप्रतिको प्रतिबद्धता दोहोर्याएका छन्। यद्यपि, आगामी नीतिगत कदमबारे स्पष्ट संकेत नआएकाले बजारमा अन्योल कायम रहेको जनाइएको छ ।
बजारले वार्शको अभिव्यक्तिबाट अपेक्षित सन्देश नपाएकाले सुनको मूल्यलाई टेवा पुगेको हो। मुद्रास्फीति नियन्त्रणका लागि कडा मौद्रिक नीतिको संकेत कमजोर देखिएकाले लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका छन्।
सामान्यतया सुनलाई मुद्रास्फीतिविरुद्धको सुरक्षित लगानी मानिन्छ। तर उच्च ब्याजदरको वातावरणमा ब्याज नदिने सम्पत्तिका रूपमा यसको आकर्षण घट्ने गर्छ।
फेडको निर्णयपछि अब सेप्टेम्बरमा ब्याजदर वृद्धि हुने सम्भावना करिब ६३ प्रतिशत रहेको बजारको अनुमान छ। यो सम्भावना नीतिगत निर्णयअघि करिब ८१ प्रतिशत रहेको थियो। लगानीकर्ताको ध्यान अब अमेरिकी व्यक्तिगत उपभोग खर्च सम्बन्धी तथ्यांकतर्फ केन्द्रित भएको छ, जसलाई मुद्रास्फीतिको महत्त्वपूर्ण सूचकका रूपमा हेरिन्छ।
भू-राजनीतिक मोर्चामा अमेरिकाले बुधबार इरानमा थप सैन्य आक्रमण गरेको जनाएको छ। यसले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काउने चिन्ता बढाएको छ। यद्यपि, तेल ट्यांकरहरूको आवागमन निरन्तर भइरहेकाले कच्चा तेलको मूल्यमा देखिएको तीव्र वृद्धि केही घटेको छ।
सुनको पछिल्लो मूल्यवृद्धि दीर्घकालीन रूपमा टिक्ने सम्भावना कम रहेको विश्लेषकहरुले बताएका छन्। उनीहरूका अनुसार तेलको मूल्यमा थप तीव्र वृद्धि नदेखिए सुनको मूल्य पुनः प्रतिऔंस ३ हजार ९०० अमेरिकी डलर आसपासमा झर्न सक्छ।
यस्तै आज चाँदीको भाउ पनि ०.१५ प्रतिशतले बढेर प्रतिऔंस ५७ डलर पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।