काठमाण्डौ । अमेरिका सरकारले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाएको छ। नयाँ व्यवस्थाअनुसार बी–१ (व्यावसायिक) र बी–२ (पर्यटक) भिसाका लागि आवेदन दिने नेपाली नागरिकले भिसा प्रक्रियाअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ लाखदेखि ३० लाख रुपैयाँभन्दा बढी) धरौटी राख्नुपर्ने हुन सक्छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यो रकम सबै आवेदकबाट अनिवार्य रूपमा नलिइने भए पनि जोखिम मूल्याङ्कनका आधारमा सम्बन्धित आवेदकलाई धरौटी राख्न लगाउन सकिनेछ। यदि भिसा अस्वीकृत भयो वा अमेरिका पुगेपछि भिसाका सबै सर्त पालना गर्दै तोकिएको समयमै स्वदेश फर्किएमा धरौटी रकम फिर्ता गरिनेछ। तर भिसाको अवधि नाघेर बसेमा (ओभरस्टे) भने उक्त रकम जफत हुनेछ।
यसअघि परीक्षणका रूपमा सञ्चालन गरिएको कार्यक्रमलाई प्रभावकारी ठहर गर्दै अमेरिकी प्रशासनले स्थायी नीति बनाएको हो। नयाँ नियममा अधिकतम धरौटी रकम २० हजार डलरसम्म पुर्याइएको छ भने न्यूनतम ५ हजार डलरको विकल्प हटाइएको छ।
यो व्यवस्थाले नेपालसँगै बंगलादेश, भुटानलगायत ५० देशका नागरिकलाई प्रत्यक्ष असर पार्नेछ। अमेरिकी सरकारका अनुसार भिसाको म्याद सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने (ओभरस्टे) प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यले यो नीति लागू गरिएको हो।

