काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ चरणको वार्ता सोमबारदेखि सुरु हुने घोषणा गर्दै इरानमाथि गरिने तयारीमा रहेको ठूलो सैन्य आक्रमण हाललाई स्थगित गरिएको बताएका छन्।
एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरान र मध्यपूर्वका अमेरिकी साझेदार राष्ट्रहरूको आग्रहपछि सम्भावित आक्रमण रोकिएको बताए। उनका अनुसार वार्तामार्फत समाधान खोज्ने प्रयास सुरु हुन लागेको हो।
यसअघि सामाजिक सञ्जाल ट्रुथ सोसल मा ट्रम्पले इरान र अमेरिकी सहयोगीहरूले आक्रमण रोक्न आग्रह गरेको तथा सम्भावित सम्झौताका आधारभूत रूपरेखा तयार भइसकेको दाबी गरेका थिए।
यद्यपि, इरानको परराष्ट्र मन्त्रालयले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्ने वा आफ्ना प्रतिनिधिलाई वासिङ्टन पठाउने कुनै योजना नरहेको स्पष्ट पारेको छ। यसअघि भएका वार्ताहरू भने तेस्रो पक्षको मध्यस्थतामार्फत सञ्चालन हुँदै आएका थिए।
ट्रम्पले वार्ताका लागि कुनै निश्चित समयसीमा तोकेका छैनन्। उनले आवश्यकता परे कुनै पनि बेला सैन्य कदम चाल्न सक्ने क्षमता रहेको उल्लेख गर्दै आफू हिंसात्मक समाधानभन्दा कूटनीतिक पहललाई प्राथमिकता दिन चाहेको बताए।
उनका अनुसार साउदी अरबका युवराज मोहम्मद बिन सलमान, संयुक्त अरब इमिरेट्स र कतारलगायत अमेरिकी साझेदार राष्ट्रहरूले पनि सैन्य आक्रमण नगर्न आग्रह गरेका थिए। ट्रम्पले हर्मुज जलडमरूमध्य र इरानको आणविक कार्यक्रमबारे सम्झौताको सम्भावना रहेको दाबी गरे।
यता, इरानको अर्धसरकारी समाचार संस्था मेहरले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै तेहरानले सैन्य कारबाही रोक्न कुनै आग्रह नगरेको जनाएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले भने हर्मुज जलडमरूमध्य सम्बन्धी वार्ता अन्तिम चरणतर्फ अघि बढिरहेको बताएका छन्।
ट्रम्पको घोषणापछि सोमबार एसियाली बजारमा कच्चा तेलको मूल्य घटेको छ। ब्रेन्ट क्रुडको मूल्य करिब ४.५ प्रतिशत र अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य ४.६ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास हर्मुज जलमार्गमध्यमार्फत ओसारपसार हुने भएकाले त्यहाँको सुरक्षा अवस्थाले विश्व उर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।
यसअघि ट्रम्पले इरानमाथि दोस्रो विश्वयुद्धयताकै ठूलो सैन्य आक्रमणको तयारी भएको चेतावनी दिएका थिए। तर उनले कूटनीतिक समाधानको सम्भावना देखिएको भन्दै तत्कालका लागि सैन्य कारबाही रोकिएको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।