काठमाण्डौ । पाँचथर जिल्लामा सञ्चालित ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत आयोजना बाढी तथा पहिरोका कारण प्रभावित भई उत्पादन बन्द भएको छ।
रिडी पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित उक्त आयोजनाको हेडरेस पाइपलाइन क्षेत्रमा गत जेठदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले नदी कटान हुँदा पाइपलाइनका आधार संरचना (एंकर ब्लक तथा पाइप सपोर्ट) लगायत अन्य सिभिल संरचनामा क्षति पुगेको कम्पनीले जनाएको छ।
निरन्तरको वर्षाका कारण पाइपलाइन मुनिको जमिनमा भूक्षय भई पाइपलाइनमा अत्यधिक दबाब सिर्जना भएको थियो। यसबाट पाइपलाइनका विभिन्न स्थानमा फुट्ने तथा चिरा पर्ने समस्या देखिएको थियो।
आयोजना पुनः सञ्चालनका लागि कम्पनीले विभिन्न चरणमा मर्मत तथा परीक्षण कार्य अघि बढाएको थियो। तर, परीक्षणका क्रममा पुनः पाइपलाइनमा समस्या देखिएपछि विस्तृत प्राविधिक मूल्याङ्कन गरिएको थियो। मूल्याङ्कनबाट सामान्य मर्मत वा वेल्डिङ प्रक्रियाबाट मात्र आयोजना सुरक्षित रूपमा सञ्चालन गर्न नसकिने निष्कर्ष निकालिएको कम्पनीले जनाएको छ।
उक्त अवस्थालाई मध्यनजर गर्दै इवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन गत असार २६ गतेदेखि पूर्ण रूपमा बन्द गरिएको छ।
हाल आयोजनाको दीर्घकालीन समाधानका लागि आवश्यक प्राविधिक अध्ययन, अवलोकन तथा मर्मत कार्य अघि बढाइएको छ। आयोजना पुनः सञ्चालन हुने मिति र समय यकिन भएपछि सरोकारवालालाई औपचारिक रूपमा जानकारी गराइने कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।